२४ मंसिर २०८१, सोमबार
अनिता चेपाङको रहर र उनका सपना
उमेरले ३३ वर्ष मात्र पुगेकी छन्, फूलमाया चेपाङ । तर उनी सात सन्तानकी आमा हुन् । फूलमायाको ६ छोरी र एक छोरामध्ये सबैभन्दा जेठी हुन्, अनिता चेपाङ । उमेरले १५ वर्ष र कक्षा तीनमा पढ्ने अनिताले पढाइलाई यसभन्दा अगाडि बढाउन पाइनन् । किनभने उनको काँधमा भाइबहिनी हुर्काउने र आमाबुबालाई सघाउने गह्रौं जिम्मेवारी पनि थियो ।
‘२०७६ साल जेठ महिनाको २२ गते बिहान ७ बजे उनको घरको आँगनमा पुगेँ । उनीसँग मेरो भर्खरै मात्र चिनजान भएको थियो । उनको जीवनबारे मनमा अनगिन्ती कौतुहलता बोकेर म उनको घर पुगेकी थिएँ’ अनिता सम्झन्छिन् ।
जलदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि हिजो ३ घण्टाको पैदलमार्ग सामान बोकेर आउने ५ जनामध्येकी एक थिइन्, अनिता । गह्रांै भारी बौक्दै लामो भिरको गोरेटो बाटोमा उनको पछिपछि हिँड्दा कहिले चप्पल हातमा त कहिले शिरको नाम्लोमा राखेर हिँडेकी अनिताका चिरिएका ती कोमल खुट्टाले मेरो ध्यान खिचेको थियो । हामीसँग बोल्न लजाएकी ती अबोध बालिकाको नामबाहेक अरू सोध्न उपयुक्त ठानिनँ । त्यसैले आज बिहानै उनको घरमा आएकी थिएँ ।
उनी घरको पिँढीमा भाइबहिनीलाई खाना खुवाउँदै थिइन् । आँगनमा कुखुराले आफ्ना चल्लालाई चारो खुवाउँदै थियोे । सानो खरले छाएको घर, भित्र अँगेनाको छेउछाउमा रहेको विस्तारा बाहिर पिँढीबाट सजिलै देखिन्थ्यो । उनको घरको आँगनमा मेरो आगमनले उनी मुसुक्क मुस्कुराइन् र मलाई पिँढीमा बस्नका लागि मकैको भुत्लाले बनेको चकटी दिइन् । उनका बाबु घरमा थिएनन्, आमा पनि बाहिर निस्किन् । स–साना नानीबाबुहरू बिहानै थालभरी भात खाँदै थिए । थालमा दाल तरकारी थिएन । पछि थाहा पाएँ भात र ढिँडो नुनसँगमात्र खाने चलन रहेछ । एकछिनपछि अनिताको खाना पनि आमाले ल्याइदिनु भयो । उनी लजाइन्, मैले खाउँ भनेपछि उनले पनि खान सुरु गरिन् ।
चेपाङ नेपालको उत्पीडित आदिवासीमध्येको एक जाती हो । राउटे कुसुण्डाजस्तै वनजंगलको वरिपरि कन्दमूल गिठ्ठा भ्याकुर, शिकार गरेर आफ्नो जीविकोपार्जन गर्दै आएको चेपाङ पछिल्लो समय विकसित बन्दै गएको छ । कृषिमा आत्मनिर्भर बन्दै शिक्षा र अन्य पेशामा पनि सक्रिय बन्दै गएका छन् । प्रायः मध्यपहाडी जिल्ला धादिङ्ग, मकवानपुर, चितवन, गोर्खा लगायत आसपासका जिल्लाहरूमा यो आदिवासी समुदाय देख्न सकिन्छ । वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा करिब ७० हजार जनसंख्या भएको तथ्याङ्क छ ।