पर्यटन स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार ः मुख्यमन्त्री आचार्य

admin

२०८१ माघ १९ गते, शनिबार २२:४३ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, १९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारको रुपमा पर्यटन क्षेत्र भएको बताउनु भएको छ । जिल्लाको मदाने गाउँपालिका –६ स्थीत कङ्के देउराली जलासय र बृहत्तर खानेपानी आयोजनाको स्थलगत निरिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई शनिबार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने आधारको रुपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनु भएको हो ।

कङ्के देउराली जलासय र बृहत्तर खानेपानी आयोजना समग्र रुपमा गुल्मी, अर्घाखाँची र प्यूठान गरी तीन जिल्लाको भाग्य र भविस्य निर्धारण गर्ने महत्वपूर्ण कडी हुने चर्चा गर्नु भयो । उहाँले यो आयोजनालाइ तीन तहका सरकारले साझा याोजनाको रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन सर्किट निर्माण गर्ने योजना प्रदेश सरकारले अघि सार्दै आएको छ । प्रदेश भित्रका प्रमुख धार्मिक स्थल, पुरातात्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरुलाई आसपमा जोडेर आकर्षक सर्किट निर्माण गर्ने मुख्यमन्त्री आचार्यले बताउनु भयो ।

आचार्यले यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नु भयो । ‘हाम्रो प्रदेश मिनि नेपालको रुपमा परिचित छ । यहाँ हिमाल, पहाड, तराईको विविधतायुक्त भुगोल छ । पुरातात्त्विक सम्पदाहरुको संरक्षण गरेर पर्यटकहरुलाई भित्राउने मुख्य संकल्प छ’, उहाँले भन्नुभयो ।

समृद्ध लुम्बिनी प्रदेशको आधारको रुपमा पर्यटन क्षेत्रलाई समृद्धिको मेरुदण्डका रुपमा विकास गर्न चाहेको मुख्य मन्त्रीको भनाई थियो । यसकालागि आवश्यक पूर्वाधार निर्माण, सेवा प्रवाह सुधार र समग्र पर्यटन प्रवद्र्धनमा जोड दिएका छौं’ उहाँले भन्नुभयो,‘पर्यटनको क्षेत्रबाट स्थानीय स्तरमा प्रसस्त रोजगारीको अवसर सृजना गर्न सकिन्छ ।’ प्रदेश सरकारले दिगो पर्यटन प्रवद्र्धनमा ध्यान दिदै नीतिगत सुधार लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री आचार्यले बताउनु भएको छ ।

मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य थापा, पूर्व सहरी विकास मन्त्री रामकुमारी झाँक्री, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, पुर्व प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, ईश्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्का लगायतको सहभागिता रहेको थियो । अन्तरक्रिया तथा बैठकले कङ्के देउराली जलासय र बृहत्तर खानेपानी आयोजनालाइ साझेदारी रुपमा अघि बढाउने निचोड निकालेको छ ।