२८ चैत्र २०८२, शनिबार
यस वर्षको जानकी साहित्य पुरस्कार मिश्रितलाई
गुल्मी, १३ चैत । गुल्मीको सदरमुकाम तम्घास स्थित किरण पुस्तकालयले प्रदान गर्दै आएको ‘जानकी साहित्य पुरस्कार–२०८३’ कवि तथा निबन्धकार काशीनाथ मिश्रितलाई प्रदान गर्ने निर्णय गरेको छ । जानकी साहित्य पुरस्कार छनोट समितिको निर्णय अनुसार नेपाली कविता तथा हास्यव्यङ्य निबन्ध विधामा उहाँले पु¥याउनु भएको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिने भएको किरण पुस्तकालयका उपाध्यक्ष एवं पुरस्कार छनोट समितिका संयोजक दीन पन्थीले जानकारी दिनुभयो ।
रुरुक्षेत्र गाउँपालिका–५ स्थित सुन्डाडा निवासी मिश्रित विगत लामो समयदेखि साहित्य सृजनामा सक्रिय रहँदै आउनु भएको छ । उहाँका ‘रक्सी’ (खण्डकाव्य), ‘दुर्भाग्य’ (महाकाव्य), ‘बोकाको मन’ (व्यङ्ग्य निबन्ध सँग्रह) ‘मिश्रित तरङ्ग’ र ‘स्वर्णिम सपना’ कविता सँग्रह लगायतका कृतिहरू प्रकाशित भएका छन ।
साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मीको क्षेत्रमा काम गर्दै आउनु भएकी ज्ञवालीको २०७३ साल मङ्सिर १२ गते अल्पायुमै निधन भएको थियो । स्वर्गीय जानकी ज्ञवाली गौतमले साहित्य तथा समाज सेवाको क्षेत्रमा पु¥याएको योगदानलाई स्मरणीय बनाउन उहाँका पति शंकरप्रसाद गौतमको विशेष अग्रसरतामा जिल्लामा जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरिएको छ ।
उक्त प्रतिष्ठानको नाममा किरण पुस्तकालय गुल्मीमा २ लाख १ हजार १५१ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमि तथा कर्मभूमि बनाई इतिहास, कला र साहित्य क्षेत्रमा योगदान पु¥याउने सर्जकलाई प्रत्यक वर्ष जानकी साहित्य पुरस्कारद्वारा सम्मान गरिदै आएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले बताउनु भएको छ ।

