नेपाल शिक्षक संघ महिला विभागद्वारा गुल्मीमा महिला शिक्षकहरुलाई नेतृत्व विकास तालिम

गुल्मी, फागुन १६ / गुल्मीमा नेपाल शिक्षक संघ महिला विभागद्वारा महिला शिक्षकहरुलाई महिला नेतृत्व क्षमता विकास तथा शसक्तिकरण सम्बन्धि तालिम प्रदान गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा माध्यमिक विद्यालयमा उक्त तालिम प्रदान गरिएको नेपाल शिक्षक संघ गुल्मीका महिला उपाध्यक्ष हिमकला रानाले जानकारी दिईन् । उनले महिला शिक्षकहरुको नेतृत्व क्षमता विकास गर्नको लागि उक्त तालिम दिईएको बताईन् ।

तालिममा जिल्लाका १२ वटै स्थानीय तहबाट नेपाल शिक्षक संघमा आबद्ध रहेका ३÷३ जना महिला शिक्षकहरुको सहभागिता रहेको बताईएको छ । जसमा एकजना महिला उपाध्यक्ष, एकजना महिला सचिव र एकजना महिला अर्थ सचिवको सहभागिता रहेको थियो । तालिममा नेपाल शिक्षक संघ संघीय उप–महासचिव धना भण्डारी मूख्य प्रशिक्षकका रुपमा रहेकी थिईन् । उनले महिला शिक्षकहरुलाई नेतृत्व विकासको बारेमा तालिम दिएकी थिईन् ।

नेपाल शिक्षक महासंघ प्रदेश नं. पाँचका अध्यक्ष प्रेमनारायण भण्डारी, नेपाल शिक्षक संघ गुल्मीका सचिव खिम बहादुर थापा लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ गुल्मीका अर्थ सचिव विष्णुमाया पोख्रेलले गरेकी थिईन् । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति गुल्मीको आयोजना तथा नेपाल शिक्षक संघ महिला विभाग गुल्मीको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।