संस्मरण : नाकाबन्दीमा खुलेको देश

फडिन्द्र भट्टराई , लन्डन, शनिबार, कार्तिक २१, कतार एयर वेजको विमानले काठमान्डू एयरपोर्टको भुई छोए पछी देश टेक्दाको खुशीले मन ढक्क फुल्यो । नाकावन्दीकै बिचमा काठमान्डू सम्मेलन गर्ने एन आर एनको निर्णयले जुराईदिएको यो देश यात्राको साईत शुभ अशुभ जे भए पनि अविस्मरणीय भने पक्कै रय्हो । उसो त गत बैसाखको महा भूकम्पमा देश भोगेर आए पछी अप्ठेरो बेलामा देश यात्राको बेग्लै अनुभूतिको अनुभवले पनि उचालेको थियो यतिखेर नेपाल जनाको लागी ।10406485_10154895731155494_6143751106899430092_n

काठमाडौं उत्रे पछी देखियो उता नाका वन्द थियो तर नेपाल खुलै थियो । कोटेश्वर देखि बानेश्वर सम्म पेट्रोलको लागी लाम वद्द गाडीहरु देख्दा लाग्थ्यो साच्चिकै नाका जस्तै नेपाल पनि बन्द छ , तर नेपाल खुलै थियो । पेट्रोल पम्पहरु बन्द थिए, तर गाडीहरु खुलै थिए, ग्यास डिलर बन्द थिए तर चुलाहरु जलेकै थिए ।

“ग्याँस पाइदैन भन्छन के गर्ने हो ? “, घरमा पुगेर चियाको चुस्की सके संगै आमाले सुनाई हाल्नु भयो । “ कति बाँकी छ र ?” मैले प्रश्न गरे । “भर्खर एउटा जोडेको हो अर्को स्टकमा छैन “, आमाको जवाफ थियो । “यो ग्याँस सकिने दिन भोलि आउछ तर आन्दोलन सकिने दिन कहिले आउने हो ?” आमाले भन्नुभयो । भर्खरै खाँचो हुनेहरु कति छन् होला हामि संग त एक दुई महिना धान्न सकिने रहेछ किन चिन्ता गर्नु हुन्छ भन्दै आमालाई शान्त्वना दिने मेरो असफल प्रयाश पछी कुराकानीको विषयवस्तु फेरियो ।

ग्याँसको जुगाड गर्ने चासो गृहिणी हरुमा धेरै हुनु स्वाभाविक थियो किनकी उनीहरुकै शब्दमा आखिर खाना पकाएर टकार्न उनीहरुलाई नै पर्छ । यस्तो बेला घरमा अलिकति हुदाहुदै पनि अलि धेरै भण्डारमा राख्न पाए केहि समय ढुक्क भईन्थ्यो भन्ने सोचले गर्दा बजारमा झन ठुलो अभाव सृजना भई दिन्छ । “पुरुष हरु देशको समग्र राजनीतिको गफ हाक्दै हिडछन तर घरमा खाना कसरी पाकेको छ भन्ने हेर्दैनन”, मेरो एकजना आफन्ती भाउजु भन्दै हुनुहुन्थ्यो । मलाई यो कुरामा केहि सत्यता लुके जस्तो लाग्छ ।

पुरुषहरु तेलको जोहोमा अलि बढी देखिन्थे , आफ्नै गाडी वा मोटरसाइकलको बिश्राम मेटाउनको लागी होला । “ “एन आर एन लाई त सरकारले मागे जति तेल दिन्छ रे नी, अलिकति मेरो गाडीमा मिलाई देऊ न “, एक जना छिमेकी दाईको आग्रहलाई मैले आफुलाई जानकारी नभएको बताउदै वेवास्ता गरें । “ तीन सय पचास रुपैया लिटर पाइयो, तराई तिर बाट मगाएको, फुल ट्यांकी हालिदिए “ ठुलै सफलता हासिल गरे सरी एक जना दाई फुरुंग हुनु हुन्थ्यो ।

यस्तै यस्तैको बिच एन आर एन सम्मेलनको चुरीफुरी सकियो अनि शुरु भयो दशैको चटारो । दशैमा गाउँ पुग्ने चाहना लाई साकार गर्न तर्फ लागियो । “ गुल्मी जाने बिचार हो, केही उपाए छ ? ”, काउन्टर बाट टिकट नपाए पछीको सोधखोज थियो यो । कतिपय मानिस हरु त उल्टै तपाईको गाडीमा एक दुई वटा सिट मिलाई दिनुस भन्दै थिए ! उनीहरुलाई के थाहा म आफै गाडीको खोजीमा थिएँ ! यो हाम्रो जेनेरलाईजेशन को तरिका हो । यसैबीच एउटा हाईस फेला पर्यो गुल्मी पुर्याउने तर धेरै भाडा तिरेर । उनीहरु पेट्रोल लाई धेरै तिर्छन हामीहरु भाडा धेरै तिरौं भन्ने तर्कले आफुलाई थाम्दै गाऊँ यात्रा तय भयो ।

मुग्लिन नारायणगढ खण्डमा हूईकिदा उताबाट आउने अधिकांश बसहरु अगाडिको सिसाको ठाउँमा प्लास्टिक बेरेका देखिए । “जंगल बाट लुकेर गुलेली ढुंगाले आक्रमण गर्छन, यस्तो मा पनि यात्रु बोकेका छन ड्राइभर हरु, के गर्ने “, बल्ल हाम्रा गुरुजीले मुख खोले । “ १७ जनाको ३४ हजार, दुई तर्फी गर्दा ६८ हजार एकै ट्रिपमा , मालामाल छ हगी गुरुजी “, एकछिनको भलाकुसारी पछी मैले पनि मुख खोलें । “ एक सयको तेल तीन सयमा हालेको हो, भाडा डबल भएर के गर्नु , त्यहि पनि यो दशैको दोश्रो ट्रीप हो “, उनले पुर्लुक्क म तिर हेर्दै भने । “ गत बैसाखमा यो गाडी किनेर बाटोमा ल्याउदा ६२ लाख पर्यो, बैकको ब्याज तिर्ने उपाए छैन, भूतले खाजा खाने बेलामा परेछु “ कुरा कोट्याउदै जाँदा उनी भावुक देखिए ।

कुराकानी कै क्रममा बिपरित दिशा बाट आउने बसका फुटेका सिसाले मेरो ध्यानाकर्षण गरेकै थिए ।

 

“फुटेका झ्याल बोकेर दौडिने गाडीको गती,

जान्दैन चालक स्वयम् के हो यो बाटोको मती ……,

चुलोमा आगो बल्दैन धोक्रामा छैन राशन,

अलपत्र झिटी झाम्टा चाडको छैन बासना ….”

केहि पंक्तिहरु कोरेर फेश बुक तिर छोडिदिए । “ तँ हिडदा हिड्दै कबिता लेख्ने ? “ दाइले नियाली सक्नु भएछ । भावना न हो आए पछी अईहाल्छ “, मैले फर्काएँ ।

“उसो भए यी सबै गाडी दूई नम्बरी तेल बाटै चलेका हुन त ?”, म गुरुजी तर्फै फर्किएँ । “ धेरैजसो त्यस्तै हो, दुई तिन दिन लाईन बसेर पाउने नपाउने ठेगान हुदैन “, उनले छोटोमै सकाए ।

हुन पनि यो सबै दूई नम्बरी बाटो बाट चलेको थियो । जब जब एक नम्बर गेट बन्द हुन्छ अनि शुरु हुन्छ दुई नम्बरको बिकल्प ! इन्धनको सवालमा बिभिन्न तरिकाले गाडीको ट्यांकी बाट जर्किन र ग्यालिनको यात्रा पार गर्दै फेरी गाडीकै ट्यांकीमा पोखिने धन्दा हो दुई नम्बरी । फरक के हो भने एक नम्बरको तरिका सस्तो सहज र सर्वसुलभ हुन्छ भने दुई नम्बरको बजार महँगो, जटिल र जोखिमपूर्ण हुन्छ । धेरै कुरामा दुई नम्बरी अपनाउन अभ्यस्त हाम्रो समाजले नाकावन्दीको कठिनाई पनि दोश्रो तरिकाले येनकेन पार लगाउँदै आएको रहेछ । जीवनको सिकाई र भोगाईले मान्छेलाई अप्ठेरो संग जुध्ने तौर तरिकाहरु पहिल्याउन सघाउदो रहेछ क्यारे !

 

विषम परिस्थितिले जनजीवन पुरै तहस नहस भएको होला भन्ने कल्पना सहित देश उत्रिएका हामीले अस्तव्यस्तताकै बिचमा दशैँमा रमाउने अवसर समेत मिल्यो । बढी भाडा लिएर भएपनि यस्तो बेलामा मान्छे ओसार्ने हरुलाई मात्रै सत्तो सराप गर्नु अन्याय हो जस्तो लाग्यो । राज्यले दिन सक्दैन त, के गरुन जनता अनि व्यावसायीहरु ! जीवन धान्न पर्यो , चल्नु चलाउनु पर्यो येनकेन । यसो भन्दै गर्दा मौलाउदै गएको कालोबजारी नियन्त्रणमा राख्ने कर्तब्य सरकारको हो तर लाग्छ देशमा सरकारको उपस्थिति पनि छ र ! हेर्दा त् सबै आफा – आफै चले चलाए जस्तो पो छ त ! यातायातमा कुनै नियम छैन अहिले, गाडीमा सके जति कोचे कोचिए हुन्छ , ओभरलोड भएर गाडी पल्टिरहेका छन । गाडीहरु समितिको मातहतमै छैनन , डबल ट्रीपल भाडा उठाउन पाए, यात्रु पुगे भने मनपरी हिडीदिन्छन । माल सामान जतिमा बेच्नुस किन्नुस कुनै पर्वाह छैन, प्रश्न गर्यो नाकावन्दीको जवाफ आउछ ।

काठमाडौ बाहिर भने परिस्थिति अलि सहज देखियो । बोर्डर तिरको झोले ओसार पसारले गर्दा होकी ! गाउँमा धेरै आनन्द रहेछ । ग्याँसको प्रयोग भित्रीए पनि दाउराको विकल्प र प्रयोग ब्याप्त र प्रयाप्त छ । घरै पिच्छेका मोटर साइकलले बिगारेका खुट्टा अब अलिकति हिडाई तर्फ अभ्यस्त देखिए । “ हामि नाकावन्दीले मर्दैनौ “, गाउँमा नवमी साँझको गेट टुगेदरमा एक जना दाईले भन्नु भयो । “ आज साँझको डिनरमा प्रयोग भएको आलु, प्याज, टमाटर र काउली बजारको हो , सायद त्यो ईन्डिया बाट बुटवल हुदै याँहा सम्म आइपुगेको हो !” मैले व्यंग्य गरें । “उताको रोकिए यता रोप्न थाल्नेछन मान्छे हरु “, दाइकै जवाफ थियो ।

देशमा शहर बजार, चिया- चौतारा , गाउँ घर , धारा – पँधेरा जताततै नाकवन्दीकै चर्चा छ । मान्छे हरु वर्तमान संग जुधेका छन तर भविष्य संग भने त्रसित देखिन्छन । सबैले सरकारलाई भन्दा भारतलाई दोषी देख्छन र गालि पनि उसैलाई गर्छन । चीनको बिकल्पमा खुशी हुन्छन । देश, मधेश र विदेश भित्रको राजनिती अनि त्यो अभिष्टको कुटनितीमा धेरै सर्व साधारणहरुलाई वास्ता छैन । उनीहरू सिधा हेर्छन र सिधै देख्छन । राजनिती भित्रको जालझेल अनि त्यसकै गांठोमा अल्झेको देशको भविष्यको विश्लेषण भन्दा पनि आफुले गरि खाने वातावरणमा ठेश नलाग्ने परिवेश राज्यले जनतालाई देओस भन्ने साधारण बुझाई झल्किन्छ गाउँले जनतामा ।

गाउँ पुगेपछि फर्किने चिन्ता । अडको फडको तेलको धुप भने झैँ येनकेन फेरी काठमादौ फर्के पछी फेरी आमाको गुनासो शुरु भईहाल्यो, “ पल्लो घरमा बुटवल बाट ग्याँस ल्याएछन, अब त खाना पकाउने तेल पनि पाउदैन भन्छन “! आफ्नो त उही पुरानै जवाफ हो “चिन्ता नगर्नुस ! ”

अभावका बीच पनि मान्छेहरु धैर्य र संयम रहेको पाइयो । स्वाभिमानको सवालमा दरिलो खुट्टा टेकेर उभिएका अधिकांस नेपालीहरु मधेशका जायज मागहरु पुरा गर्ने सवालमा भने बिना कुनै पूर्वाग्रह सरकारी तत्परताको खाँचो औल्याउछन । सायद उनीहरुले पनि बुझेका छन चाइना बाट एकाध दर्जन ट्यांकर तेल भित्र्याउदैमा समस्याको दिगो समाधान निस्किने वाला छैन तर संग संगै जनताको धैर्यताको बाँध भने अझै सम्म थामिएकै छ ।

तीन हप्ते नेपाल बसाई सकेर फर्किदा काठमाडौ- दोहा फ्लाइटमा सिटको एउटा साइडमा साउदी अरब हिडेका बागलुंग बलेवाका धनिश्वर र अर्को पट्टि साढे चौध लाख रुपैयामा साटेको युरोपको ३ महिने सेन्जेन भिसामा पोर्चुगल छिर्न हिडेका पर्वतका एक जना साथीको बिचमा च्यापिदै फर्किदा धेरै कुराहरु मनमा अव्यक्त नै रहे । कतार आउने प्लेनमा करीव दुई तिहाई बहुमत भने मधेशी मुलका नेपालीहरुको नै थियो ।

अन्तत दोहा – लन्डनको जम्बो जेटले हिथ्रो विमानस्थल टेकी छाड्यो । आफन्त बाट पिक अप पोइन्टमै गाडीमा उठाईएको मैले एक्जिट लगत्तै कफी पिउने चाहना राखे संगै हाम्रो गाडी पेट्रोल पम्पमा रोकियो । कोस्टा क्यापचिनो किन्दै गर्दा बाहिर गाडीहरु धमाधम पेट्रोल भर्दै थिए । म एकछिन त्यतै टोलाएछु । गाडीको फ्यूल इन्डिकेटर फुल थियो । बिदेशमा केहि राम्रो देख्ना साथ हाम्रो नेपालमा पनि यस्तै भए भनेर कल्पिने हामीहरु यस्तै कल्पनामै घर आइपुगेको पत्तै भएन ।

(एक संस्मरण)