२७ माघ २०८१, आईतवार
तीनपाते : कथा वाचन र प्रस्तुतीमा निजत्वको खोजी

एउटा चलनचल्तीको भनाई छ, ‘सफलताको लागि अरुले भन्दा फरक काम गर्नुपर्छ भन्ने छैन, बरु त्यही काम फरक ढंगले गरिदिए हुन्छ ।’
यहाँ सफलता र विफलताको भागबन्डा एवं लेखाजोखा गर्न लागिएको होइन । प्रसंग के मात्र जोड्न खोजिएको हो भने, निर्देशक नविन चौहानले ‘तीनपाते’ मार्फत म्युजिक भिडियो निर्माणको फरक शैली सूत्रपात गर्न खोजेका छन् । अर्थात जुन प्रारुपमा म्युजिक भिडियो निर्माण भइरहेको थियो, त्यो पुरातन ढर्रा बेवास्ता गर्दै यसले कथा वाचन र प्रस्तुतीमा निजत्वको खोजी गरेको छ ।
मौलिक शब्द–रचना, माधुर्य धुनसँगै यसको कथ्यशिल्प चाखलाग्दो छ ।
‘तीनपाते’ले जम्माजम्मी ९ मिनेटभित्र पुर्वेली जन–जीविका, भौगोलिक विशिष्ठता, निश्छल पिरती, युवा सपना र ग्रामिण उद्यमको उमंगमय खाका पेश गर्छ ।
ससर्ती माया–पिरतीको कलेवरमा यसले युवाको उद्यमशिलता बारे देखाउँछ । तर, यसभित्र त्यस्ता थुप्रै मिहिन कुराहरु समेटिएका छन्, जसले ग्रामिण सौन्दर्य उजागर गर्छ । जस्तो मेलापात, हाटबजार, बस्तुभाउ, घरेलु उद्यम, चालचलन । ग्रामिण समाजको आफ्नोपन झल्काउने नाङ्लो–मान्द्रो, मानो, घरेलु तानदेखि पञ्चेबजा, लाहुरे रवाफ जस्ता रोचक कुराहरु समावेश गरिएका छन् । निकै होशियारीपूर्वक गरिएका दृश्य संयोजन र प्रतिकात्मक दृश्यहरुले यसलाई अरु खास बनाएको छ ।