२७ कार्तिक २०८३, बिहीबार
गुल्मी कारागारका कैदीबन्दीले लगाए दिदीबहिनीको हातबाट भाइटीका
गुल्मी, २५ कात्तिक । गुल्मी जिल्ला कारागारका कैदीबन्दीले यस वर्षको तिहारमा पनि दिदीबहिनीको हातबाट भाइटीका लगाएका छन् । कारागार भित्र रहेका कैदीबन्दीले दिदीबहिनीसँगै तिहार मनाउने अवसर पाएको कारागार प्रमुख मेघप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
कैदीबन्दीले दिदीबहिनीको हातबाट टीका लगाएपछि गच्छे अनुसार दक्षिणा दिएका थिए । दिदीबहिनीले पनि आफ्ना दाजुभाइलाई मिठामिठा परिकारसँगै उपहार प्रदान गरेका थिए । कारागार भित्र रहेर पनि आफ्नै दिदीबहिनीको हातबाट टीका लगाउन पाउँदा कैदीबन्दीहरु पनि निकै खुसी भएका थिए ।
दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेम, आत्मीयता र सद्भावको प्रतीकका रूपमा मनाइने भाइटीकाले कारागारभित्र रहेका कैदीबन्दीलाई पनि पारिवारिक सम्बन्ध र आत्मीयताको अनुभूति गराएको कारागार प्रशासनले जनाएको छ । कारागार प्रमुख पोखरेलका अनुसार भाइटीकापछि कैदीबन्दीले कारागार भित्र देउसीभैलो खेलेर एकापसमा रमाइलो गर्दै खुसी साटासाट गर्ने परम्परा रहेको छ ।
प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले पनि कैदीबन्दीलाई चाडपर्वका अवसरमा पारिवारिक वातावरण र सामाजिक सम्बन्धसँग जोड्ने यस्ता गतिविधिले सकारात्मक प्रभाव पार्ने बताउनुभयो । २५ जनाको क्षमता रहेको गुल्मी जिल्ला कारागारमा हाल क्षमता भन्दा धेरै कैदीबन्दी रहेका छन् । कारागार प्रमुख पोखरेलका अनुसार कारागारमा ९२ पुरुष र छ महिला गरी ९८ जना कैदीबन्दी रहेका छन् ।
कारागारमा रहेका कैदीबन्दीले फर्निचर उद्योग, बाँसका चोयाबाट मुडा निर्माण तथा ढाका बुनाइ जस्ता सीपमूलक काम गर्दै आइरेका छन् ।

