चार महिनापछि गुल्मीमा हवाई सेवा सुचारु

admin

२०८३ आश्विन २७ गते, मंगलवार २०:१८ मा प्रकाशित

गुल्मी, २७ असोज । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ । रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाका अनुसार गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो ।

खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या हुँदै आएको स्टेसन प्रमुख सुमन थापाले बताउनुभयो । मङ्गलबार काठमाडौंबाट १३ जना यात्रु बोकेर आएको उक्त विमानले गुल्मीबाट दुई जना मात्र यात्रु बोकेर काठमाडौं फर्किएको छ । नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा तीन दिन उडान गर्ने गरी नयाँ तालिका समेत निर्धारण गरेको छ ।

लामो समयदेखि हवाई सेवा प्रभावित हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामले राजधानी काठमाडौँसम्म जानुपर्ने यात्रु बढी समस्यामा परेका थिए । यस अघि विमानस्थलसम्म पुगेर उडानको प्रतीक्षामा बसेका यात्रु अन्तिम समयमा मौसम प्रतिकूल भएको भन्दै उडान रद्द हुँदा निराश हुँदै फर्किन बाध्य भएका थिए ।

स्टेसन प्रमुख थापाका अनुसार यस अघि पटकपटक खराब मौसमका कारण टिकट लिएका यात्रु समेत विमानस्थल पुगेर फर्कनुपर्ने अवस्था थियो । “मौसममा सुधार आएको छ, अब उडान नियमित हुन्छ,”उहाँले भन्नुभयो । प्राविधिक दृष्टिले बिहानको समयमा मौसम अनुकूल हुने भएका कारण गुल्मीमा बिहानको समयमा मात्र हवाई सेवा सञ्चालन हुँदै आएको छ । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्विनअटर विमान मार्फत काठमाडौं–गुल्मी र गुल्मी–काठमाडौं उडान गर्दै आएको छ ।

निगमले आजदेखि उडान तालिका समयमा समेत परिवर्तन गरेको छ । जसअनुसार आईतबार र मङ्गलबार काठमाडौंबाट रेसुङ्गाका लागि बिहान ७ः१५ बजे र रेसुङ्गाबाट काडमाडौंका लागि बिहान ८ः१५ वजे र शुक्रबार काठमाडौंबाट रेसुङ्गाका लागि बिहान ६ः२० र रेसुङ्गाबाट काडमाडौंका लागि बिहान ७ः२० वजेको तालिका रहेको छ । निगमले काठमाडौंबाट गुल्मीका लागि १० हजार ७१० रुपैयाँ र गुल्मीबाट काठमाडौंका लागि रु १० हजार ५१० रुपैयाँ हवाई भाडा निर्धारण गरेको छ ।

गुल्मीमा हवाई सेवा सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत सहजता आएको थियो । सडकमार्गबाट राजधानी पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने यस क्षेत्रका नागरिकलाई हवाई सेवाले ४५ देखि ५० मिनेटमै काठमाडौँ आवतजावत गर्न सहज बनाएको छ । गुल्मीमा हवाई सेवा सञ्चालनका लागि रेसुङ्गा नगरपालिकाले समेत सहयोग गर्दै आएको छ ।

नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिकरुपमा हवाई सेवा सुरु गरेको थियो । पछिल्लो समय इन्धनको मूल्य वृद्धि, सडक पूर्वाधारको स्तरोन्नति र आरामदायी सार्वजनिक यातायातका साधन सहज रूपमा उपलब्ध हुन थालेपछि रेसुङ्गा विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको संख्यामा कमी आएको बताइएको छ ।