गुल्मीको मुसिकोटमा खसीबोका बिक्री मेला: १४ लाख भन्दा बढीको कारोबार

admin

२०८३ आश्विन २५ गते, आईतवार १४:०२ मा प्रकाशित

गुल्मी, २४ असोज । गुल्मीको मुसिकोट नगरपालिका–३ बडागाउँ स्थित साना किसान कृषि सहकारी संस्थाले दशैं लक्षित खसीबोका खरिदबिक्री मेला आयोजना गरेको छ । किसानले उत्पादन गरेका खसीबोकाको बजारीकरण तथा बिक्री वितरण सहज बनाउने उद्देश्यले आयोजित मेलामा ५६ वटा खसीबोका बिक्री भएका छन् । उक्त मेलाबाट १४ लाख ६२ हजार २८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

सहकारीले किसान र व्यापारीलाई एउटै ठाउँमा भेला गराई बिक्री तथा खरिद प्रक्रिया सहज बनाउने उद्देश्यले पहिलो पटक मेला आयोजना गरेको हो । मेलामा किसानले उत्पादन गरेका खसीबोका बिक्रीका लागि ल्याएका थिए । मेलामा बिक्री भएका खसीबोकाको कुल तौल दुई हजार २३० किलोग्राम रहेको थियो । ती मध्येमा सबैभन्दा बढी ७६ किलो तौल भएको बोका मुसिकोट नगरपालिका–४ डाँडाथोकका किसान खेमबहादुर बगालेले बिक्रीका लागि ल्याउनुभएको थियो ।

सहकारीले किसानलाई पशुपालनमा प्रोत्साहन गर्न प्रति खसीबोकालाई जिउँदो तौलका आधारमा प्रतिकिलो २५ रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराएको छ । त्यस्तै मेलामा सहभागी किसानलाई प्रति व्यक्ति एक हजार रुपैयाँ र ढुवानी खर्च बापत प्रति खसीबोका ५०० रुपैयाँ उपलब्ध गराइएको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्त्यालले बताउनुभएको छ । किसानलाई उत्पादनमा आधारित प्रोत्साहन दिएर व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सहकारीका व्यवस्थापक विवेक प्रेमी मगरका अनुसार मेलामा सहभागी किसानलाई प्रोत्साहन स्वरूप ४८ हजार रुपैयाँ, ढुवानी खर्च बापत २२ हजार ५०० र जिउँदो तौलका आधारमा ५५ हजार ७५० रुपैयाँ गरी कुल एक लाख २६ हजार २५० रुपैयाँ उपलब्ध गराइएको छ । मेलामा सबैभन्दा बढी ७५ किलो भन्दा बढी तौलका खसीबोका बिक्रीका लागि ल्याइएको सहकारीले जनाएको छ । किसानले उत्पादन गरेका खसीबोकालाई बजारसम्म पुर्‍याउन र उचित मूल्यमा बिक्री गर्न सहजहोस् भन्ने उद्देश्यले मेला आयोजना गरिएको मेला व्यवस्थापन समितिका संयोजक मदनदीप घिमिरेले जानकारी दिनुभयो ।

पशुपालनलाई व्यावसायिक बनाउने उद्देश्यले उक्त सहकारीलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा बाख्रा प्रवर्द्धन कार्यक्रम अन्तर्गत सहयोग गरेको कार्यालय प्रमुख हुमकान्त पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार गुल्मीमा वार्षिक करिब दुई लाख बाख्रा रहेकोमा ४५ हजार खसीबोका किनबेच हुने गरेको छ ।

उक्त मेलाले स्थानीय स्तरमा उत्पादित खसीबोकाको बिक्रीका लागि व्यवस्थित बजारको व्यवस्था गर्दा किसानलाई बजार खोज्नुपर्ने झन्झट कम हुने, व्यापारीलाई एकै ठाउँबाट खरिद गर्न सहज हुने र किसानहरूलाई पशुपालन व्यवसाय गर्न थप प्रोत्साहन मिलने बताइएको छ ।