३ असार २०८३, बुधबार
परागसेचनमार्फत दिगो कृषि प्रवद्र्धन गर्न गुल्मीमा कृषक पाठशाला तालिम
गुल्मी, २ असार । गुल्मीमा कृषि उत्पादन वृद्धि, जैविक विविधताको संरक्षण तथा परागसेचन गर्ने जीवहरूको संवद्र्धन गर्ने उद्देश्यले अगुवा कृषकहरूका लागि ‘परागसेचन–मैत्री कृषिमा आधारित कृषक पाठशाला’ तालिम सम्पन्न भएको छ ।
नेपाल परागसेचन परियोजना अन्तर्गत सञ्चालन गरिएको उक्त तालिममा रेसुङ्गा नगरपालिका र रुरुक्षेत्र गाउँपालिकाका अगुवा कृषकहरूको सहभागिता रहेको थियो । दिगो कृषि र जैविक विविधताको संरक्षणका लागि परागसेचनको महत्वबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको परियोजनाका जिल्ला कृषि अधिकृत सन्तोष पन्थले जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा मौरी, पुतली, भमरा लगायतका परागसेचन गर्ने जीवहरूको संख्या विभिन्न कारणले घट्दै गएको बताउनुभयो । यस्ता जीवहरूको संरक्षण र संवद्र्धनमार्फत कृषि उत्पादन तथा जैविक विविधता दुवैलाई सुदृढ बनाउने लक्ष्य सहित परियोजना सञ्चालन गरिएको पन्थले बताउनुभयो ।
परियोजनाको मुख्य उद्देश्य राष्ट्रिय स्तरमा परागसेचन सम्बन्धी सचेतना तथा शिक्षा अभियान सञ्चालन गर्नु रहेको छ । परागसेचनमैत्री वातावरण निर्माण गरी कृषकहरूलाई दिगो कृषि अभ्यासतर्फ उन्मुख गराउने अभियान अन्तर्गत जिल्लामा परियोजना मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्न थालिएको छ ।
लिभर्डका कार्यक्रम अधिकृत अनुपम उप्रेती, जनस्वास्थ्य अधिकृत उषा भुसाल तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमक अधिकृत विशाल भण्डारी लगायतले तालिममा मौरीपालन तथा घार व्यवस्थापन, मानव स्वास्थ्य तथा पोषण, सुन्तलाजात फलफूलका रोग तथा कीरा व्यवस्थापनलगायत विषयमा सहजिकरण गर्नुभएको थियो ।
बेलायत सरकारको आर्थिक सहयोगमा चार वर्षका लागि सञ्चालन भइरहेको उक्त परियोजनामा हर्ड इन्टरनेशनल नेपाल, लिभर्ड, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयको साझेदारी रहेको छ । परियोजनाकी कृषि प्राविधिक कृषा डोटेलका अनुसार यसअघि रेसुङ्गा नगरपालिका सहित जिल्लाका छ वटा स्थानीय तहमा कृषकहरूको ज्ञानस्तर मापन गर्न दिगो कृषि, जैविक विविधता तथा परागसेचन सम्बन्धी सर्वेक्षण समेत गरिएको थियो ।
तालिममा सहभागी कृषकहरूले कार्यक्रम निकै उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभएको थियो । उहाँहरुले परागसेचन, जैविक विविधता संरक्षण तथा आधुनिक कृषि अभ्यास सम्बन्धी नयाँ ज्ञान हासिल गर्न पाएको भन्दै यसले कृषकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

