२४ कार्तिक २०८३, सोमबार
गुल्मीमा गोवर्धन पूजाका अवसरमा १०८ गाईको सामूहिक पूजा
गुल्मी, २३ कात्तिक । गोवर्धन पूजाका अवसरमा गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गा स्थित गौशालामा १०८ गाईको सामूहिक पूजा गरिएको छ । गाईलाई नुन खुवाउने उद्देश्यले बिहानैदेखि सयौँ श्रद्धालुहरु नुन, तेल, पिठोर घाँस बोकेर गौशाला पुगेका थिए ।
गाईलाई लक्ष्मीको स्वरूप मानेर गोवर्धन पूजा गरिएको अवसरमा गाईलाई नुन, तेल, पिठो तथा फलफूल खुवाइएको थियो । गाईको पूजा गरी नुन खुवाउँदा घरमा लक्ष्मीको बास हुने र रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वासका कारण गुल्मी सहित छिमेकी जिल्लाबाट समेत श्रद्धालुहरु गौशाला आउने गर्दछन् ।
रेसुङ्गा संरक्षण समितिले विसं २०४२ देखि रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा स्थानीय जातका गाईको संरक्षण गर्दै आएको छ । हिन्दू धर्मावलम्बीले गाईलाई आमाका रूपमा पूजा गर्ने परम्परा रहिआएकाले यस क्षेत्रमा गाईपूजाको विशेष धार्मिक महत्व रहेको समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो ।
रेसुङ्गा संरक्षण समितिले गोवर्धन पूजाको महत्वबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले बेलाबेलामा गौप्रवचन कार्यक्रम समेत आयोजना गर्दै आईरहेको छ । पछिल्लो समय समितिले श्रद्धालुबाट दैनिक एक रुपैयाँका दरले वार्षिक रूपमा मुष्ठिदान सङ्कलन कार्यलाई निरन्तरता दिँदै आएको छ ।
सनातन हिन्दू संस्कृतिमा गाईलाई लक्ष्मीको स्वरूप, पवित्रता र वात्सल्यको प्रतीकका रूपमा लिइन्छ । गोवर्धन पूजाका दिन गाईलाई नुन, पिठो तथा मिष्ठान्न खुवाएर पूजा–आराधना गर्दा घरपरिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास समेत रहिआएको छ ।

