८ बैशाख २०८२, सोमबार
पशु सेवा विज्ञ केन्द्र गुल्मीद्वारा भ्याक्सिनेटर अभिमुखीकरण कार्यक्रम

गुल्मी, १३ माघ । गुल्मीमा भ्याक्सिनेटर अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा भ्याक्सिनेटर अभिमुखीकरण कार्यक्रम गरिएको हो । गुल्मी जिल्लामा स्थानीय तहको सिफारिसमा नियुक्त भएका ५० जना भ्याक्सिनेटरहरुलाई अभिमुखिकरण गरिएको कार्यालय प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिनुभयो ।
भ्याक्सिनेटरहरुलाई अभिमुखिकरण गरी पशु सेवा शाखाको समन्वयमा समय तालिका अनुसार खोप कार्यक्रम सम्पन्न गर्ने, खोप लगाई सकेपछि सफ्ट्वयरमा परविष्ट गर्ने विधिबारे जानकारी गराउने, खोप लगाईसकेपछि नियमानुसार प्राप्त हुने सेवा शुल्क भुक्तानीका लागि आवश्यक प्रक्रिया जानकारी गराउने, पशुमा लाग्ने महामारीजन्य रोगबाट बच्नका लागि जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको पाण्डेयले बताऊनु भयो ।
सोही अवसरमा जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीले पशुहरुमा पछिल्लो समय खोरेत र पीपीआर रोगले कृषकहरुलाई समस्या पुर्याएको बताउनुभयो । यसका लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले महत्वपुर्ण योगदान पुर्र्याइरहेको बताउनुभयो ।
उहांले खोरेत र पीपीआर रोगबाट ग्रसित पशुहरुलाई नियालेको भन्दै यसको रोकथामका लागि समयमै भ्याक्सिन लगाउने लगायतका क्रियाकलापमा लागि थप सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा.प्रवेशसिङ कुँवरले भ्याक्सिनको कोल्डचेनलाई बिशेष ख्याल पुर्र्याउनुपर्ने भन्दै पछिल्लो समय अनुगमनलाई समेत तीव्र पारिएको बताउनु भएको थियो।
कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका पशुसेवा प्राबिधिकहरूको सहभागिता रहेको थियो ।