गुल्मी अस्पतालमा हेमोडायलाईसिस सेवाको सुभारम्भ

admin

२०८० माघ १३ गते, शनिबार १९:३३ मा प्रकाशित

गुल्मी १३ माघ ।

 

गुल्मी अस्पतालमा हेमोडायलाईसिस सेवाको सुभारम्भ गरिएको छ । हेमोडायलाईसिस सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै स्वास्थ्य मन्त्री खनालले प्रदेश अन्तर्गतका सबै अस्पतालमा हेमोडायलाईसिस सेवा सुरू गरिने बताउनुभयो ।

 

यस वर्ष यस प्रदेश भित्रका ६ वटा अस्पतालमा डायलाईसिस सेवा सुरू गरेको स्वास्थ्य मन्त्रालयले सबै अस्पतालको थप सेवा विस्तार गर्ने बताउनुभयो । मन्त्री खनालले संविधानले सुनिश्चत गरेको आधारभुत स्वास्थ्य सेवा तल्लोतह सम्म पुर्याउन मन्त्रालय प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

 

अस्पतालहरूमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै गुणस्तरीय उपचार सेवा प्रदान गर्न सकिने बताउँदै मन्त्री खनालले अहिले पनि स्वास्थ्यमा एक सय भन्दा बढी दरबन्दि खालि रहेको बताउनुभयो ।

 

प्रदेश मन्त्रालयले आह्वान गरेको प्राविधिक जनशक्तिमा दर्खास्त दिन नै नआउँदा समस्या परेको बताउनुभयो । समय-समयमा थप गरिएका सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिदंै स्वास्थ्य मन्त्री खनालले लहडको भरमा नभई आवश्यक्ता र दिगोपनको सुनिश्चिता हुने गरि योजनाबद्ध ढँगले काम गर्नुपर्ने बताउनुभयो ।

 

त्यस अवसरमा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले हेमोडायलाइसिस सेवा सुभारम्भले गुल्मी जिल्लाको समुन्नतिमा एउटा इट्टा थप भएको बताउनुभयो । जिल्लामै हेमोडायलाइसिस सेवा सुरु भएकाले दुःखी र गरिब नागरिक सबैभन्दा धेरै लाभान्वित हुन पनि आग्रह गर्नुभयो ।

 

नगरप्रमुख पन्थीले आफू निर्वाचित भएपछि रेसुङ्गा नगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट गुल्मी तम्घासमै मिर्गौलाको डायलाइसिस सेवा आरम्भ गर्न आवश्यक व्यवस्था मिलाउने निणर्य गरेको स्मरण गराउँदै निरन्तरको खटाई र पहलबाट आज सो निणर्य कार्यान्वयनमा आएको उल्लेख गर्नुभयो ।

 

गुल्मी जस्तो दूर-दराजको ग्रामीण भूभागका जनताले यो सेवाको अभावमा धेरै कष्ट बेहोर्नुपरेको भन्दै सहजताका लागि जिल्लामै यस्तो निणर्य गरी अहिले सञ्चालनामा ल्याएको बताउनुभयो । नगरपालिकाले गुल्मी अस्पतालमै बिशेषज्ञ डाक्ट्ररलाई थप सेवा सुविधा दिएर हाडजोर्नी लगायतका बिशेषज्ञ सेवा प्रवाह भइरहेको भन्दै गुल्मी अस्पताललाई मेरो अस्पताल भन्ने भावना जागृत गराउने गरी अगाडी बढिरहेको बताउनुभयो ।

 

गुल्मीमै डायलासिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता अन्त्य समेत भएको उहाँको भनाई छ । डायलासिस सेवाका लागि अस्पतालमा पाँच मेसिन छन् । त्यसमध्ये तीन वटासम्म नियमित सञ्चालन गर्न सकिने गुल्मी अस्पतालका बरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा.किशोर बञ्जाडेले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार बाँकी दुई वटा वैकल्पिक रुपमा राख्नुपर्ने हुन्छ । डायलासिस सेवाका लागि अस्पतालमा एक विशेषज्ञ डाक्टर र एक नर्सको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । एक बिरामीले हप्तामा दुई पटक डायलासिस गराउनुपर्छ । एक पटकमा झण्डै पाँच घण्टा लाग्छ । अस्पतालमा हप्तामा नौ जनालाई डायलासिसको सेवा प्रदान गर्न सकिने समेत बन्जाडेले जानकारी दिनुभयो ।