गुल्मीमा आफ्नै घरमा आगो लगाउने व्यक्ति प्रहरी खोरमा

admin

२०८१ बैशाख १० गते, सोमबार १७:१६ मा प्रकाशित

गुल्मी, १० वैशाख मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका ‐६ अन्र्तगत रजस्थलका ५९ वर्षीय रेख बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोख्रेलले जानकारी दिनु भएको छ ।

परियारले अत्यधिक मात्रमा मादक पदार्थ सेवन गरी आईतबार राती आफु बस्ने घरमा आगो लगाएका थिए । आगो लागेपछि घर भित्र रहेको अन्नपात एवं लत्ताकपडा जल्नुका साथै घर समेत आगोले पुर्ण रुपमा नष्ट गराएको छ । अन्य समयमा पनि परियारले मादक पदार्थ सेवन गरेपछि गाउँमा होहल्ला गर्नुका साथै स्थानिय छिमेकीहरुको घरमा आगो लगाई दिन्छु भन्दै धम्की दिंदै आउने गरेको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा आगो लगाएको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरिक्षक शंकर पोखरेलको नेतृत्वमा गएको प्रहरी टोलीले परियारलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई प्रचलित कानुन बमोजिम आबश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको छ ।

घरमा आगो लागेपछि अलपत्र अबस्थामा रहनु भएकी रेख बहादुरकी श्रीमती सीता परियारलाई सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट तत्कालका लागि राहत रकम उपलब्ध गराईएको छ । त्यस्तै गरी नेपाल रेडक्रसले पनि पीडित परिवारलाइ भाँडाकुडा एवं त्रिपाल र लत्ताकपडा उपलब्ध गराईएको छ ।