२४ आश्विन २०८१, बिहीबार
डा. भण्डारीद्वारा जिल्लाको विकास निर्माणका लागि मन्त्री तथा सचिवसँग छलफल
गुल्मी, १६ असोज । नेपाली काँग्रेका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नं १ का सांसद डा.चन्द्र भण्डारीले जिल्लाको विकास निर्माणका समस्याहरुको बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग छलफल गर्नु भएको छ । छलफलको क्रममा सांसद भडारीले अविरल वषासँगै आएको बाढी पहिरोका कारण गुल्मी जिल्लाका बिभिन्न क्षेत्रमा पुर्याएको क्षतिको बारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले जिल्लाका विभिन्न स्थानमा बाढीले गरेका कटान र पहिरोहरू रोकथाम र मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने रिडी–तम्घास सडक खण्डका विभिन्न स्थानमा देखिएका समस्याहरू तत्काल समाधान गरी निर्माण कार्य चाँडो भन्दा चाँडो अगाडि बढाउन आग्रह गर्नु भएको छ । भेटघाटको क्रममा सांसद भण्डारीले सडक र पुल निर्माण कार्य यथाशिघ्र अघि बढाउनका लागि बजेटको व्यवस्था गरिदिन आग्रह गर्नु भयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डाक्टर भण्डारीले भनेका गुल्मीका महत्वपूर्ण सडकहरुलाई तत्काल बहुवर्षीय शीर्षकमा लैजानका लागि मन्त्रालयका सचिव र महानिर्देशकलाई निर्देशन दिनु भएको थियो । उक्त भेटघाटको क्रममा सचिवले र महानिर्देशकले रूद्रवेणी–वामिटक्सार सडक खण्डमा पर्ने डहरे खोला पुल, नादेवा खोला पुल, गेदी खोला पुल र भार्से खोला पुल गरि चारवटा पुलहरुको निर्माण सम्पन्न गर्नका लागि आवश्यक वजेटकोे स्रोत सुनिश्चितता गर्ने बताउनु भएको थियो ।
यसका अतिरिक्त उहाँहरुले कालीगण्डकीमा पर्ने पुर्तीघाटको पुलको ठेक्का गर्ने घोराहा र सोता जोड्ने पुल र पुलका मुखको पुलको डिपिआर पुरा गरी तिनको छिट्टै ठेक्का प्रक्रिया समेत अगाडी बढाईने बताउनु भयो । सचिव केशव शर्माले निर्माण व्यवसायी भागवत गिरीसँग टेलिफोन गरी रकम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै काम यथाशिघ्र अघि बढाउन निर्देशन समेत दिनु भएको थियो ।
निर्माण व्यावसायी भागवत गिरीले रकमको सुनिश्चितता हुने भएपछि पुलनिर्माण काम समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भएको भण्डारीका स्वकीय सचिव बोधराज कँडेलले जानकारी दिनुभएको छ ।