२४ मंसिर २०८१, सोमबार
जिल्लामा अब्बल बन्दै साना किसान कृषि सहकारी संस्था
गुल्मी, ९ मंसिर । पछिल्लो समयमा देशमा केही सहकारीहरुले रकम अवचलन गरि नागरिकहरुमा नकारात्मक सन्देश प्रबाह गर्दै गरेको अबस्थामा गुल्मीको साना किसान कृषि सहकारी संस्थाले भने स्थानीय स्तरमा उत्कृष्ट काम गरि जिल्लामा एउटा अब्बल संस्थाको रुपमा स्थापित बनेको छ । सहकारीमा जम्मा गरेको थोरै थोरै रकमले बिरामी भएर अशक्त हुँदा होस व्यावयाय गर्नका लागि उद्यम कर्ममा लागेका उद्यमी कृषकहरुका लागि साना किसान सहकारी यतिबेला धेरैको सारथी बनेको छ ।
गुल्मीको गुल्मीदरबार गाउँपालिका –३ स्थित राजामा गत २१ वर्ष अघि स्थापना भएको साना किसान सहकारी संस्थामा यतिबेला १६ सय ५१ जना सेयर सदश्यहरु रहेका छन । संस्थामा आबद्ध बनेका सेयर सदश्यहरु मध्य महिलाहरुको संख्या मात्र ८५ प्रतिशत रहेको छ । संस्थाको अध्यक्ष सहित महिलाहरुले नेतृत्व गरेको उक्त संस्थाले अहिलेसम्म २५ करोड ६४ लाख ८३ हजार रुपैंयाको कारोबार गरेको छ । पाँच करोड २४ लाख रुपैंया संस्थात पुँजी रहेको उक्त संस्थाको आफ्नै निजी भवन समेत छ ।
संस्थाले उद्यम गर्ने आफ्ना सेयर सदश्यहरुलाई एक लाख रुपैंयासम्म बिनाधितो र धितो राखेर ५० लाखसम्म रिण प्रबाह गर्दै आएको साना किसान सहकारी संस्थाका प्रबन्धक भुपाल थापाले बताउनु भएको छ । गाउँमा केही गर्छु भनेर कृषि तथा उद्योग व्यवसाय सञ्चालन गर्नेहरु यतिबेला बैंकमा धाएर महँगो ब्याजमा रिण काढेर ल्याउनु भन्दा आफै सहकारीमा पुगेर सस्तो ब्याजदरमा रिणलिई व्यवसाय सञ्चालन गर्न थालेका छन ।
संस्थाले ५ सय २७ जना आफ्ना सेयर सदश्यहरुलाई यतिबेला १६ करोड भन्दा बढी रकम रिण प्रबाह गरेको छ । गाउँका मानिसहरुलाई यतिबेला आफुलाई केही काम गर्नका लागि पैसाको अभावमा कसैको मुख ताक्नु पर्दैन । आफुले व्यवसाय गर्ने स्पष्ट आधार र प्रतिबद्धताका आधारमा संस्थाले सदश्यहरुलाई एक लाख रुपैंयासम्म बिनाधितो रिण उपलब्ध गराउँदै आएको छ ।
त्यत्ति मात्र हैन साना किसान सहकारी संस्थाले सामाजिक उत्तरदायीत्वको क्षेत्रमा समेत सहयोग पुराउँदै आएको संस्थाकी अध्यक्ष शुसिला पुनले जानकारी दिनुभएको छ । संस्थाको २१ औं साधारण सभामा अति अशक्त, जेष्ठ नागरिक, उत्कृष्ट कृषक, उत्कृष्ट बचत, उत्कृष्ट समूह, मरणोप्रान्त एवं एसइईमा उत्कृष्ट अङ्क ल्याउने सेयर सदश्यका वालवालीकाहरुलाई समेत नगद रकम सहित सम्मान गरेको छ ।
स्थानीय स्तरमा रहेर पनि लामो समयदेखि उत्कृष्ट काम गरेर जिल्लामा नमूना सहकारी सस्थाको रुपमा स्थापित बनेको छ । साना किसान कृषि सहकारी संस्था जिल्लामा स्थानीय पालिका, प्रदेश र केन्द्रिय स्तरबाट समेत पुरस्कृत बन्दै आएको संस्थाको हो । गुल्मीदरबार गाउँपालिकालाई आफ्नो सिँगो कार्य क्षेत्र बनाएर काम गर्दै आएको उक्त संस्थाले स्थानीयतहमा यतिबेला नागरिकहरुको मन जित्दै गएको छ ।
कार्यक्रममा साना किसान लघुवित्त वित्तिय संस्था बुटवलका सञ्चालक सुखदेव न्यौपाने, गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगा, शाखा प्रबन्धक शेर बहादुर चौधरी, वडाध्यक्षहरु, निमित्त प्रशासकीय अधिकृत लगायत अन्य स्थानीय जनप्रतिनिधि एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।