३ चैत्र २०८१, सोमबार
विषय विज्ञसहित गुल्मीका सामुदायिक विद्यालयमा अनुगमन

रमेश विश्वकर्मा।
गुल्मी, पुस २० गते । गुल्मीमा विषय विज्ञसहितको टोलीले सामुदायिक विद्यालयमा अनुगमन सुरु गरेको छ । शिक्षा विकास तथा समन्वय इकाईले वार्षिक कार्यक्रम अन्तर्गत यस जिल्लाका सामुदायिक विद्यालयहरुको अवस्थाको बारेमा जानकारी लिने उदेश्यसहित अनुगमन थालेको हो ।
दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहका ५९० सामुदायिक विद्यालयमध्ये ३६ विद्यालय छनोट गरी अनुगमन गर्न लागिएको छ । गणित, अङ्ग्रेजी र विज्ञान विषयका विज्ञसहित प्रत्येक स्थानीय तहका दुई माध्यमिक विद्यालय र एक आधारभूत विद्यालय अनुगमनका लागि छनोट गरिएको शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख एवम् जिल्ला शिक्षा समिति अध्यक्ष द्रोण खत्री, सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख र विषय विज्ञबाट ३६ वटा विभिन्न सामुदायिक विद्यालयको अवलोकन गर्नुका साथै पृष्ठपोषण समेत प्रदान गरिने बताइएको छ । छनोट भएका विद्यालयहरुको अवलोकन चालू आर्थिक वर्ष २०८१-०८२ भित्रमा सम्पन्न गर्ने गरी लागिएको हो ।
जिल्लाका सामुदायिक विद्यालयको भौतिक अवस्था, शैक्षिक गुणस्तरका बारेमा अध्ययन विश्लेषण गर्ने, विद्यालय सुधारका उपाय पहिल्याउने र सिकाई उपलब्धि बढाउनका लागि अनुगमन थालिएको हो । त्यस क्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीसंग छलफल गरिनेछ ।
पहिलो चरणको तीन दिनमा रेसुङ्गा नगरपालिकाको जनसहयोग माध्यमिक विद्यालय र साउनेथुम आधारभूत विद्यालय, गुल्मीदरबार गाउँपालिकामाको महाकाली आधारभूत विद्यालय र थाक्सीपोखरा माध्यमिक विद्यालय, चन्द्रकोट गाउँपालिकाको जनता आधारभूत विद्यालय र ग्वाघा माध्यमिक विद्यालयको अनुगमन गरिएको प्राविधिक सहायक रामप्रसाद पन्थीले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घटिरहेको, विषय शिक्षक दरबन्दीको अभाव रहेको पाइएको छ । विशेषगरी बसाइँसराइ र जन्मदर पनि घट्नुका कारण कक्षाकोठामा विद्यार्थी संख्या न्यून रहेको विद्यालयहरुले जनाएका छन् । अहिलेको अवस्था र आवश्यकता अनुसार आवासीय सुविधासहित विग विद्यालयको अवधारणा अगाडी बढाउनुपर्ने आवश्यकता देखिएको छ ।
प्रधानाध्यापकको क्षमता र समुदायको सहभागिता भएको विद्यालयहरुले राम्रो शैक्षिक उपलब्धि हासिल गरेको भन्दै जिल्ला समन्वय समिति प्रमुख एवम् जिल्ला शिक्षा समिति अध्यक्ष द्रोण खत्रीले शिक्षामा सुधार र गुणस्तरीय शिक्षाका लागि अनगुमनले सहयोग पुर्याउने बताउनुभयो । विद्यालयलको शैक्षिक गुणस्तर वृद्धिका लागि सबै पक्ष लाग्न जरुरी रहेको उहाँको भनाइ छ ।