३ चैत्र २०८१, सोमबार
मलाई एक पटक पार्टीको भारी बोक्ने र देशको नेतृत्व गर्ने मन छ ः डा.भण्डारी

जनार्दन घिमिरे
गुल्मी, २६ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा.चन्द्र भण्डारीले समय अनुसार नेताहरु अपडेटहुँदै जानुपर्ने बताउनु भएको छ । उहाँले नेता बन्ने तर जनताका कुराहरुलाई कहिल्यै सम्बोधन नगर्ने र उनीहरुको समस्या नबुझ्ने गरेका कारण पछिल्लो समयमा जनताले नेताहरुलाई गाली गर्ने वातावरण बन्दै गएको बताउनु भयो ।
उहाँले जनताका वास्तविक कुरा नसुन्ने, लामो भाषण गर्ने, उनीहरुका मुद्दाहरु कहिल्यै सदनमा नउठाउने तर जनताले उनीहरुलाई भोट मात्रै दिनुपर्ने भन्दै त्यस्ता कुराको अत्यका लागि विकास निर्माणका कुरामा पनि अपडेट हुनुपर्ने उहाँको भनाई थियो । नेपाली काँग्रेस रेसुङ नगर कार्यसमिति गुल्मीको तेस्रो नगर सम्मेलनको सनिबार सदरमुकाम तम्घासमा सम्बोधन गर्दै सांसद भण्डारीले उक्त कुरा बताउनु भएको हो ।
सांसद एवम् केन्द्रीय सदस्य भण्डारीले पार्टीमा आफुले पनि लामो समयदेखि योगदान गर्दै आएको स्मरण गर्दै आफुलाई पनि एक पटक पार्टीको भारी बोक्ने र देशको नेतृत्व गर्ने मन भएको विचार व्यक्त गर्नु भयो । सदनमा आफुले स्पस्टसँग जनताका कुरा उठाउने गरेको कारण सबैले चन्द्रदाइ चन्द्रदाइ भन्ने गरेको भन्दै नेता भण्डारीले मृत्युबाट उम्केर आएको हुनाले पनि आफुलाई कहिल्यै गलत कुरा बोल्न र गल्ती गर्न छुट नभएको बताउनु भएको थियो ।
वहुदलीय व्यवस्था आएको ३६ वर्षसम्म पनि सिमान्तकृत वर्गहरुलाई अझै पनि माथि उकास्न नसकिएको भन्दै उहाँले अब सरकारले तिनीहरुका लागि सोच्न थालेको बताउनु भयो । सधै गुनगुन गरेर मात्र मुलुक अघि नबढ्ने भन्दै सांसद भण्डारीले अब मुलुकलाई विश्व प्रतिस्पर्धामा लैजान नयाँ नयाँ सपना देख्नुपर्नेमा जोड दिनुभएको थियो ।
सनिबार बिहान सदरमुकाम तम्घासमा कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै सांसद भण्डारीले विकास निर्माणका काममा ढीलासुस्ती नगर्न समेत आग्रह गर्नु भएको थियो । नागरिकलाई स्थापित गर्नका लागि विकास चाहिएको भन्दै उहाँले विकासका नाममा कुनै पनि नागरिकहरु विस्थापित हुनुपर्ने अबस्था आउन नदिन सबै सचेत बन्नुपर्ने बताउनु भयो ।
पछिल्लो समयमा सडक फराकिलो बनाउने नाममा जथाभावि रुपमा नागरिकलाई विस्थापित गर्न नहुने उहाँको भनाई थियो । सांसद भण्डारीले रिडी–तम्घास सडक र रिडी–बल्कोट सडक आयोजनाको वित्तिय तथा भौतिक प्रगतिको बारेमा कार्यालय प्रमुखसँग जानकारी लिनुभएको थियो ।