गुल्मीदरबार पूर्ण खोप सुनिश्चितसंस्थागत प्रस्तुति र पूर्ण पोषण मैत्री पालिका घोषणा

admin

२०८२ जेष्ठ ५ गते, आईतवार ११:२२ मा प्रकाशित

गुल्मी, ४ जेठ । गुल्मीको गुल्मीदरबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित, पूर्ण संस्थागत प्रस्तुति र पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था सुनिश्चित पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष द्रोण बहादुर खत्रीले त्यसका लागि चाहिने आवश्यक मापदण्ड पुरा गरेपछि उक्त घोषणा गर्नु भएको हो ।

गुल्मीदरबार गाउँपालिका अन्र्तगतका सबै वडाहरुमा २०७१ देखि नै पूर्ण खोप घोषित भई हरेक वर्ष सुनिश्चित हुँदै आएको छ । गाउँपालिका स्थापना भएदेखि कार्यक्रमको दिगोपनामा जोड दिई पालिकालाई पूर्णखोप पालिका सुनिश्चित गर्दै प्रत्यक वर्ष त्यसलाई प्रमाणिकरण गरिदै आएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो । उहाँले खोप सुनिश्चतता र दिगोपनाको कारण खोपबाट बचाउन सकिने सबै रोगहरु नियन्त्रण भएको जानकारी गराउनु भयो ।

गुल्मीदरबार गाउँपालिकाले पालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त स्थानीय तह तथा जिल्ला घोषणा मापदण्ड, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा मापदण्ड र राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सबै आवश्यक मापदण्डहरु पुरा गरिसकेको थियो । सोही मापदण्ड अनुसार गाउँपालिकालाई क्रमशः पूर्ण संस्थागत प्रसुती सेवायुक्त, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित र पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्यालले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये उक्त मापदण्ड पुरा गर्ने गुल्मीदरबार २१ औं स्थानमा पर्दछ । पालिकाको अथक प्रयासपछि २०८० जेठ ६ गते गुल्मीदरबार गाउँपालिकालाई नेपालकै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिसकिएको थियो ।

गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले विगत ५ वर्षदेखि गुल्मीदरबारमा कुनै पनि महिलाहरु घरमा सुत्केरी नभएको बताउनु भयो । उहाँले त्यसका लागि ‘उपाध्यक्ष कोशेली, बाबालाई चिठी, गर्भवती झण्डा’ लगायतका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको जानकारी गराउनु भयो । त्यसका अतिरिक्त पालिकाले बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई यातयात खर्च, न्यायो झोला उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रमका जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीले गुल्मीदरबार गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गौरव गर्ने कार्य गरेको बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ र पोषणमा राम्रो गर्न सकिएन भने मानव विकास हुन नसक्ने बताउनु भएको थियो ।

सोही कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले पोषण, पूर्ण संस्थागत प्रसुती र पूर्ण खोप घोषणा कार्यक्रमको लागि गाउँपालिकाद्वारा भएगरेका क्रियाकलापहरुको विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । घोषणा कार्यक्रममा विभिन्न सन्देश मूलक प्लेकार्ड सहित प्रभातफेरी समेत गरिएको थियो ।