३ बैशाख २०८३, बिहीबार
सम्बिधान दिवशको अवसरमा शान्ति र्याली
संविधान जारी भएको एक दशक पूरा भएको अवसरमा शुक्रबार गुल्मीमा शान्तिपूर्ण र्यालीसहित संविधान दिवस मनाइएको छ। नेपाली काँग्रेसको अगुवाइमा आयोजित कार्यक्रममा सहभागीहरूले “संविधानको रक्षा गरौँ, भ्रष्टाचार अन्त्य गरौँ” भन्ने नारासहित बजार परिक्रमा गर्दै कोणसभा सम्पन्न गरेका थिए।
र्यालीका सहभागीहरूले संविधानलाई जोगाउने प्रतिबद्धता व्यक्त गर्दै हालै जेनजी पुस्ताले थालेको आन्दोलनका मागहरूलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेका थिए। उनीहरूले आन्दोलनमा भएको घुसपैठमा संलग्न व्यक्तिहरूलाई तत्काल कार्वाहीको मागसमेत गरेका थिए।
र्यालीका क्रममा सहभागीहरूले विभिन्न प्ले कार्ड बोकेका थिए। ती प्ले कार्डमा “२०७२ को संविधान सबै नेपालीको पहिचान”, “हिमाल–पहाड–तराई मधेस हाम्रो साझा घर”, “युवा नेतृत्व सुदृढ काँग्रेस”, “२०४६ पछि सार्वजनिक पदमा बसेकाको सम्पत्ति छानबिन गर”, “किन जल्यो अदालत ?”, “कुन पापिले सिंहदरबार जलायो ?” लगायतका नारा लेखिएका थिए।
साथै, भदौ २३/२४ का घटनाबारे छानबिन गर्नुपर्ने, विशेष महाधिवेशन बोलाउनुपर्ने, सम्पत्तिको छानबिन गर्ने आयोग तत्काल गठन गर्नुपर्ने लगायतका मागहरू समेत प्रष्ट रूपमा प्रस्तुत गरिएका थिए।
र्यालीपछि जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित कोणसभामा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले सहिद शम्सेर बहादुर खत्रीको शालिकमा माल्यार्पण गर्दै सम्बोधन गरेका थिए। उनले भने,
“जेनजी पुस्ताले उठाएका मागहरू जायज छन्। ०४६ सालपछि लाभको पदमा बसेकाको सम्पत्ति छानबिन हुनैपर्छ। अब ढिलाइ गर्ने अवस्था छैन।”
पन्थीले अरबौँको सम्पत्ति क्षति र निजी क्षेत्रको अवस्थाबारे चिन्ता व्यक्त गर्दै घुसपैठ गर्नेहरूमाथि कानुनी कार्वाही गर्न जोड दिए। उनले काँग्रेसको नेतृत्वले संविधानलाई जोगाउनेतर्फ स्पष्ट प्रतिबद्धता जनाएको उल्लेख गर्दै भने,
“यो संविधान सङ्घर्ष र बलिदानको फल हो। यसलाई थप परिस्कृत गर्दै बलियो जनताको संविधान बनाउनुपर्छ।”
राष्ट्रपतिको भूमिकाको प्रशंसा
पन्थीले वर्तमान कठिन परिस्थितिमा संविधानको रक्षा गर्नेतर्फ राष्ट्रपतिको भूमिकाको प्रशंसा गरे। उनले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न सबै दलबीच एकता आवश्यक रहेको उल्लेख गर्दै काँग्रेसले युवाको नेतृत्वलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे।
उनले भने, “अब काँग्रेस युवाको हातमा नेतृत्व सुम्पन्छ। नागरिकलाई सर्वोपरी ठानेर व्यावहारिक रूपमा संविधान कार्यान्वयन गर्ने दिशामा अघि बढ्छौं।”
कोणसभामा जेनजी आन्दोलनलाई शान्तिपूर्ण रूपले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै घुसपैठ गर्ने तत्वलाई कारबाही नगरेसम्म असन्तुष्टि चुलिने चेतावनी दिए।
त्यसैगरी, ०४६ सालदेखि एउटै व्यक्तिहरू नेतृत्वमा रहँदा समस्याहरू थपिएको भन्दै नयाँ पुस्तालाई अवसर दिनुप
र्ने आवाज समेत उठाइयो।

