३ बैशाख २०८३, बिहीबार
गुल्मीको रिडीमा अस्थायी प्रहरी पोस्ट स्थापना
गुल्मी, १२ असोज । कालीगण्डकी करिडोर सडक र मदन भण्डारी राजमार्गको संगम स्थल, गुल्मीको रूरूक्षेत्र गाउँपालिका –१ रिडीमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । गुल्मीमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले पाल्पा र गुल्मीको दुईवटा मुख्य सडकको संगम स्थल रिडीमा उक्त सुरक्षा पोस्ट स्थापना गरिएको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक कपिल शाहीले जानकारी दिनुभएको छ ।
आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत बजेट अन्तर्गत उक्त अस्थाई पोस्ट निर्माण गरिएको हो । नवनिर्मित प्रहरी पोस्टको आईतबार गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायण प्रसाद अधिकारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा 
प्रहरी उपरिक्षक अधिकारीले जिल्लामा अपराध न्यूनीकरण, शान्ति–सुरक्षा प्रवद्र्धन र नागरिक–प्रहरी वीचको एकता र सहकार्यलाई सुदृढ गर्न अस्थायी प्रहरी पोस्टको स्थापनाले जिल्लामा महत्वपूर्ण भूमिका रहने बताउनुभयोे ।
कार्यक्रममा रूरूक्षेत्र गाउँपालिका ‐१ का वडाध्यक्ष नवराज बिकले धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र रिडी र त्यस वरिपरीको क्षेत्रको सुरक्षाका लागि प्रहरी पोस्ट अतिनै आवश्यक रहेको बताउनु भएको थियो । सोही अवसरमा प्रहरीद्वारा शुभकामना आदानप्रदान तथा नागरिक सुनुवाई कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा स्थानीयहरुले चाडवाडको समयमा उत्पन्न हुनसक्ने विभिन्न समस्याहरुको वारेमा सुझावहरु समेत दिनुभएको थियो ।
रिडी क्षेत्र वरिपरीको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले स्थापना गरिएको उक्त अस्थायी प्रहरी पोस्टले कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग क्षेत्रमा सञ्चालनहुने सवारी आवागमनलाई समेत सुरक्षित र सुव्यवस्थित बनाउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा जनप्रतिनिधि, स्थानीय वासिन्दाहरु, समाजसेवी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

