वामी नमुना समाजको नमुना काम, गाउँको विकासमा नयाँ अभियान

admin

२०८२ कार्तिक १३ गते, बुधबार १७:५७ मा प्रकाशित

 

गुल्मी, ११ कात्तिक । वामी नमुना समाज गुल्मीको आयोजनामा सञ्चालन गरिएकोे ऐतिहासिक पुनर्मिलन तथा भेटघाट कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । नमुना समाजद्वारा मुसिकोट नगरपालिका –७ स्थित भेडुवामा तिन दिनसम्म पुनर्मिलन तथा भेटघाट, वडा स्तरीय भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, वक्तृृत्वकला, भैलो एवं बिविध साँस्कृतिक तथा सम्मान कार्यक्रम आयोजना गरिएकोे थियो ।

स्वदेश तथा विदेश जहाँ रहेपनि वामीवासी बीचमा आत्मीय एकता र आपसी सद्भाव बढाउने र आफ्नो जन्मस्थललाई सधै स्मरण गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको वामी नमुना समाजका संस्थापक अध्यक्ष तथा हाल वामी सेवा समिती जापानका अध्यक्ष दिलीप थापाले बताउनु भयो ।

साविकको वामी गाविस –९ मा जन्मिएर हाल विभिन्न ३८ देशमा छरिएर रहनुभएका व्यक्तिहरुको सहभागितामा वामी नमुना समाज गठन गरिएको हो । उक्त संस्थाले स्थापनादेखि विभिन्न सामाजिक कार्यसँगै गाउँका हरेक समस्यामा आवश्यक सहयोग गर्दै आईरहेको संस्थापक अध्यक्ष दिलीप थापाले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी, कलाकारहरु लालुमाया कँुवर, कमल बराल, बिर बहादुर बिश्वकर्मा, दुर्गा रायमाझी लगायतको प्रस्तुती र पञ्चेबाजाले दर्शकहरुलाई तिन दिनसम्म निकै दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । सोही अवशरमा त्यस क्षेत्रका सामाजिक एवं प्रबुद्ध व्यक्तिहरुसँग वामीको विकास र आगामी दिनमा गर्नुपर्ने सामाजिक कार्यहरुको विषयमा समेत अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख जिवलाल खरेल जीवन, पुर्व नगर प्रमुख सोमनाथ सापकोटा, वडाध्यक्ष हरिहर सापकोटा लगायतका व्यक्तिहरुले आफ्नो जन्मभूमिलाई माया गर्दै वामीको विकासका निम्ति समाजले गरेको सामाजिक विकासको क्षेत्रमा गरेको योगदानको उच्च प्रशंसा व्यक्त गर्दै आगामि दिनमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष थापा सहित कार्यक्रम संयोजक ईन्द्र थापा, गुल्मी समाज युकेका उपाध्यक्ष मुकुन्दहरी खराल, न्युजिल्यान्डमा रहनुहुने सामाजिक व्यक्तित्व पर्शुराम खराल, सुवास परियार, महिला संयोजक पबित्रा थापा, दिपसन राना, प्रेम खराल लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमममा नमुना समाजलाई विभिन्न क्षेत्रबाट योगदान गर्ने सामाजिक व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको कार्यक्रम संयोजक इन्द्र थापाले बताउनु भएको छ ।