१ चैत्र २०८२, आईतवार
चिच्चाएर वर माग्न कुर्घाको मालिकामा श्रद्धालुहरुको घुइँचो
गुल्मी, १७ कात्तिक । गुल्मीकोे धार्मिक स्थल कुर्घाको मालिका मन्दिरमा यतिबेला दर्शनार्थीहरुको घुँईचो बढेको छ । पूर्णिमा मेलाको अवशरमा मालिका मन्दिरमा भाकल गर्न र चिच्चाएर वर माग्नका लागि श्रद्धालुहरुको बाक्लो उपस्थितिहुने गर्दछ । यस क्षेत्रमा पुर्णिमा मेलाको अवशरमा पुजाआजाका लागि हजारौं श्रद्धालुहरु मालिकामा पुग्ने गर्दछन ।
मुसिकोट नगरपालिका –६ स्थीत कुर्घामा रहेको मालिका मन्दिरको भिन्नै धार्मिक आस्था र महत्व छ । विशेषगरि कात्तिक शुक्ल चर्तुदशीका दिनमा यहाँ आउने श्रद्धालुहरुले मालिकाको महत्वलाई झनै उजागर गर्दै आएको छ । त्यसका अतिरिक्त यस क्षेत्रमा विभिन्न तिथी तथा पर्वहरुमा समेत मेला लाग्ने गरेको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्माले बताउनुभयो ।
मालिकामा सञ्चालनहुने तिनदिने पूर्णिमा मेलाको अवशरमा मन्दिरमा पाठ परायण, पुजाआजा लगायत भलिबल तथा विविध साँस्कृतिक कार्यक्रमहरु समेत सञ्चालन गरिएको पुर्णिमा मेला व्यवस्थापन समिति अध्यक्ष कृष्णहरि अर्यालले बताउनुभयोे । पौराणिक कथन अनुसार करिब पाँच हजार वर्ष पुरानो ईतिहास बोकेको मालिका मन्दिर द्वावापर युगको अन्तिम समयतिर स्थापना भएको भन्ने भनाई रहेको छ ।
प्राचिनकालदेखि पौराणिक महत्व बोकेको मालिका मन्दिरमा पुजाआजा गरेपछि चिच्याएर बर माग्ने गरिन्छ । मालिका देवीले कान कम सुन्ने भएका कारण चिच्याएर वर माग्नुपर्ने प्रचलन रहेको स्थानीय ज्ञानहरी सापकोटाले बताउनुभयो । मालीका मन्दिरमा वर मागेर भाकल गरेपछि मनले चिताएको सबै कुरा पुराहुन्छ भन्ने जनविश्वास छ । यस मन्दिरमा पुग्ने मानिसहरुले वर मागेर भाकल गर्ने र उक्त भाकल गरेको कुरा पुरा भएपछि सोही ठाउँमा पुगेर आफुले भाकल गरेको बस्तु चढाउने प्रचलन छ ।
मालिका मन्दिरको माथिबाट दुईवटा ढुङ्गाको कापबाट निस्किएको पानीले स्नान गर्नका लागि पनि मानिसहरुको उत्तिकै घुइँचो लाग्ने गर्दछ । यहाँ ठुला चट्टानबाट बाह्रै महिना पानीको मुल निस्किरहन्छ । सानो पानीको कुण्ड र त्यसै कुण्डमा आफ्नै गतिमा नाँचीरहेका रङ्गिविरङ्गी माछाहरुको दृश्य झनै सुन्दर देखिन्छ । मन्दिर परिशर वरिपरी देखिने सुन्दर प्राकृतिक दृश्यहरुले पनि मालिका मन्दिरको थप आकर्षण बढाएको छ ।
नेपालको उच्च कोटीमा रहेका धार्मिक स्थलहरु मध्ये भिन्नै महत्व र विशेषता भएको कारण यहाँ विषेश पर्वहरुमा श्रद्धालुहरुको घुइँचो लाग्ने गरेको हो । मालिका मन्दिरमा दर्शन एवं पुजाआजाका लागि गुल्मी लगायत अर्घाखाँची, बाग्लुङ्, प्युठान, बुटवल, पोखरा, काठमाडौ लगायत भारतको अयोध्यासम्मबाट मानिसहरु आउने गर्दछन ।
मालिका क्षेत्रमा माल्याश्री नामका ऋषिले तपस्या गरेको भन्ने किम्वदन्ती छ । तत्कालिन समयमा उक्त क्षेत्रमा रहेको वनजङ्गलमा जङ्गली जनावर र चराचुरुङ्गीहरुको वासस्थान रहेको भनाई छ । जङ्गलमा पानीको मुहान रहेको र पछि कालान्तरमा उक्त मुल सुकेपछि त्यहाँका वन्यजन्तु तथा जीवजन्तुहरुलाई पानीको ठूलो सङ्कट परेपछि देवी प्रकट भएर वर माग भन्दा माल्याश्री ऋषिले पानीको अभावले प्राणीहरुले दुःख पाएको भनेर पुकार गरेपछि मालीका भगवती प्रसन्न भएर मन्दिर परिशरमा पानीको मुल फुटाएर प्राणीहरुको जीवन रक्षा गरेको भन्ने भनाई छ ।
त्यही पौराणिक मान्यताका कारण त्यस क्षेत्रमा सयौं वर्षदेखि चट्टानको बीचबाट निस्केको सानो जलकुण्ड अहिलेसम्म विद्यमान छ । अर्काेतर्फ श्रीस्वस्थानी व्रत कथामा पनि शक्ति पीठको रुपमा मालिकाको वर्णन गरिएको पाईन्छ । त्यसै कारण साउन र माघ महिनामा मालिका मन्दिरमा बली चढाउन पाइँदैन । पछिल्लो समयमा मालिका मन्दिर क्षेत्रको विकासका लागि मुसिकोट नगरपालिकाले सडक, खानेपानी तथा मन्दिर पुनर्निमाण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । पूर्णिमा पर्वको अवशरमा मुसिकोट नगरपालिकाले मंगलबार एक दिनका लागि सार्वजनिक विदा समेत दिएको छ ।

