२१ जेष्ठ २०८३, बिहीबार
महिला जनप्रतिनिधिमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई पक्राउ गर्न महिला संगठनहरुको माग
गुल्मी, २१ जेठ । गुल्मीमा महिला जनप्रतिनिधिमाथि भएको दुव्र्यवहार तथा आगजनी प्रयासको घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न विभिन्न महिला संगठनहरूले माग गरेका छन् । अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), नेपाल महिला संघ गुल्मी र अखिल नेपाल महिला संघ गुल्मीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर र सवारी चालक राम बहादुर खत्री माथि भएको आक्रमण प्रयासको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्ति अनुसार गत जेठ ८ गते मालिका गाउँपालिका–८ कुटी सिमलटारीमा आयोजित सत्सङ्ग कार्यक्रममा सहभागी हुन जानेत्र क्रममा उपाध्यक्ष कुँवर सहितको टोलीलाई इस्मा गाउँपालिका–५ को हुलाके र दोबाटो क्षेत्रमा केही व्यक्तिले योजनाबद्ध रूपमा पछ्याएको, गालीगलौज गरेको तथा गाडीमा पेट्रोल छर्केर आगजनीको प्रयास गरेको आरोप लगाइएको छ । सो क्रममा वडा कार्यालयका कर्मचारी माथि समेत दुव्र्यवहार भएको जनाइएको छ ।
महिला संगठनहरूले महिला जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारी माथि कार्य क्षेत्रमै असुरक्षा सिर्जना गर्ने गरी भएको घटनालाई अराजक र आपराधिक गतिविधिको संज्ञा दिँदै कडा शब्दमा भत्र्सना गरेका छन् । नेपालको संविधान र प्रचलित कानुनले महिला हिंसा, दुव्र्यवहार तथा जनप्रतिनिधि माथिको आक्रमणलाई गम्भीर अपराधका रूपमा लिएको भन्दै दोषीमाथि कानुन बमोजिम कारबाही हुनुपर्ने महिला संगठनहरुको माग छ ।
घटनाका सम्बन्धमा पीडित पक्षले जेठ १२ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा किटानी जाहेरी दर्ता गराइसकेको अबस्थामा प्रशासन र सुरक्षा निकायको हालसम्म दोषी पक्राउ नगरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । संगठनहरुले विज्ञप्ति मार्फत जाहेरीमा नाम उल्लेख भएका सबै व्यक्तिलाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन, महिला जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकको सुरक्षाको प्रत्याभूति गर्न र कुनै पनि राजनीतिक वा अन्य प्रभावका आधारमा दोषीलाई संरक्षण गर्ने कार्य रोक्न माग गरेका छन् ।
विज्ञप्तिमा नेपाल महिला संघ गुल्मीकी सभापति लक्ष्मी पाण्डे, अखिल नेपाल महिला संघकी अध्यक्ष सपना पन्थी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की जिल्ला समन्वय समिति संयोजक मञ्जु कुमारी दर्लामी र अखिल नेपाल महिला संघ गुल्मीकी सचिव जमुना कुँवरको संयुक्त हस्ताक्षर रहेको छ । महिला संगठनहरुले दोषीहरूलाई कानुनी दायरामा नल्याइए महिला अधिकार र न्यायको पक्षमा संयुक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

