गुल्मीदरबारमा सकारात्मक सोचसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

admin

२०८३ जेष्ठ २४ गते, आईतवार २०:४१ मा प्रकाशित

गुल्मी, २४ जेठ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले एक दिने सकारात्मक सोचसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।

पालिकाद्वारा आयोजित कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा बरिष्ठ प्रशिक्षक नरबहादुर कार्की तथा संगम महतले इमानदारी, सकारात्मक सोच, करुणा, कृतज्ञता, मैत्रीभाव र प्रसन्नतालाई जीवनको आधार मान्दै व्यवहारमा परिवर्तन आवश्यक रहेको विषयमा सहजीकरण गर्नुभएको थियो।

प्रशिक्षकहरूले जीवनमा आउने दुःख र समस्याबाट भाग्नुभन्दा सोच र दृष्टिकोण परिवर्तन गरेर समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभएको थियो । उहॅाहरूले निरासाको व्याप्त मनोविज्ञानको सॅस्कृति समाज र मुलुकका लागि पनि चुनौती रहेको उल्लेख गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सकारात्मक सोच र असल आचरणले व्यक्तिगत जीवनसँगै संस्थागत कार्यसम्पादनलाई पनि प्रभावकारी बनाउने बताउनुभयो। उहाँले नागरिकप्रति उत्तरदायी र सेवामुखी संस्कृतिको विकासका लागि यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले कार्यक्रममा सहभागीहरूले प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रमले सोच बदल्न सके समाधान सम्भव भएको भन्दै निराशामा डुब्नुभन्दा सोचमा सकारात्मक परिवर्तन ल्याएर समाधान खोज्न सकिने सन्देश दिएको थियो।