१३ असार २०८३, शनिबार
रोटरी क्लब अफ रेसुङ्गाद्वारा स्थापना दिवसमा वृक्षारोपण एवं ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
गुल्मी, १३ असार । रोटरी क्लब अफ रेसुङ्गा गुल्मीले आफ्नो स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ।
शनिबार क्लबले गुल्मीदरबार गाउँपालिकास्थित आधारभूत अस्पताल परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणमा योगदान पुर्याएको हो। कार्यक्रममा आँप, लिची, धुपी, ओखर, कपुर, दालचिनी लगायतका बिरुवा रोपिएका थिए।
स्थापना दिवसकै अवसरमा गुल्मीदरबार गाउँपालिकाको गौडाकोट बजार र म्यालपोखरी क्षेत्रमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको सहकार्यमा सवारी साधनहरूको यान्त्रिक परीक्षण तथा ट्राफिक सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा सवारीचालकलाई सवारी सुरक्षाका आधारभूत मापदण्ड र ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको थियो।
रोटरी क्लब अफ रेसुङ्गा गुल्मीका अध्यक्ष तथा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाको नेतृत्वमा आयोजना गरिएको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा, जिल्ला समन्वय समिति सदस्य तथा क्लब सदस्य सुनिता जिसी, रेसुङ्गा नगरपालिका कार्यपालिका सदस्य सीता विश्वकर्मा, क्लबका इलेक्ट प्रेसिडेन्ट डोरविक्रम श्रीस, उपाध्यक्ष राजु कुँवर, सचिव भागीरथ भण्डारी लगायतको सहभागिता रहेको थियो।
उक्त अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक चुरामणि पोखरेल नेतृत्वको टोलीले सवारीचालक तथा स्थानीयलाई ट्राफिक नियम, सुरक्षित यात्रा र सवारी साधनको नियमित यान्त्रिक परीक्षणको महत्त्वबारे जानकारी गराएको क्लबका सदस्य प्रकाश थापाले जानकारी दिनुभएको छ ।


