गुल्मीमा उत्कृष्ट १२ उद्यमी तथा कृषक सम्मानित

admin

२०८३ मंसिर १२ गते, शुक्रबार १६:५८ मा प्रकाशित

गुल्मी, ११ मंसिर । जिल्लामा घरेलु तथा साना उद्योग मार्फत स्वरोजगार सिर्जना गर्दै राम्रो आम्दानी गर्न सफल १२ उद्यमी तथा कृषकहरु लाई सम्मान गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा शुक्रबार सदरमुकाम तम्घासमा आयोजित १२ औँ उद्योग दिवसका अवसरमा जिल्लाका उत्कृष्ट उद्यमी तथा कृषकलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरु मध्य सबै भन्दा बढी वार्षिक २८ लाख आम्दानी गर्ने गुल्मीदरबार गाउँपालिका–६ स्थित रेसुङ्गा एग्रो एण्ड रिसर्च फर्मका सञ्चालक विशाल थापा हुनुहुन्छ । उहाँले बाख्रापालन तथा बिरुवा उत्पादन व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ ।

त्यसैगरी बेकरी उत्पादनबाट वार्षिक २५ लाख आम्दानी गर्ने रुरुक्षेत्र गाउँपालिका–४ स्थित श्रेष्ठ पाउरोटी उद्योगका बलबहादुर श्रेष्ठ र दुग्ध उत्पादनबाट वार्षिक १४ लाख आम्दानी गर्ने मुसिकोट नगरपालिका–६ स्थित खड्का कृषि तथा पशुपन्छी फर्मका सञ्चालक सुमबहादुर खड्का पनि सम्मानित हुनुभएको छ ।

यसैगरी छत्रकोट गाउँपालिका–५ स्थित पूर्णिमा कृषि तथा पशुपालन फर्मका सञ्चालक विष्णुप्रसाद भण्डारी, सत्यवती गाउँपालिका–३ की कमला भण्डारी, कालीगण्डकी गाउँपालिका–५ की तारादेवी घर्ती र रेसुङ्गा नगरपालिका–२ का भोजराज भण्डारी सम्मानित हुनुभएको छ । भण्डारीले काँक्रा खेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आउनु भएको छ भने कमला भण्डारीले अचार उत्पादन, घर्तीले बेकरी उत्पादन र भोजराजले कुटानी–पिसानी व्यवसायबाट वार्षिक १०÷१० लाख रुपैयाँ आम्दानी गर्दै आउनु भएको छ ।

त्यसैगरी चन्द्रकोट गाउँपालिका–८ स्थित बाघखोला कृषि तथा पशुपन्छी फर्मका सञ्चालक ओमबहादुर घर्ती मगरले बंगुर पालन तथा कृषि व्यवसायबाट वार्षिक आठ लाख, मदाने गाउँपालिका–३ स्थित दिपा अचार उद्योगकी सञ्चालक दिपा केसीले अचार उत्पादनबाट पाँच लाख तथा रेसुङ्गा नगरपालिका–४ स्थित श्री ॐ नव ताजा तरकारी केन्द्रका भेषराज पन्थीले तरकारी तथा फलफूल खेतीबाट चार लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आउनु भएको छ ।

परम्परागत सीपबाट इस्मा गाउँपालिका–६ स्थित कुमाल सेरामिक्स उद्योगका सञ्चालक खुमे कुमालले माटाका भाँडाकुँडा उत्पादनबाट वार्षिक चार लाख आम्दानी गर्दै आउनुभएको छ । घरेलु उद्योगतर्फ धुर्कोट गाउँपालिका–५ स्थित रेसुङ्गा सिलाईकटाई उद्योगका सञ्चालक रामबहादुर दमाईले वार्षिक तीन लाख ६० हजार आम्दानी गर्दै आउनु भएको छ ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले स्थानीय स्तरमा उद्यम तथा कृषि व्यवसाय सञ्चालन गरी स्थानीय स्रोत, साधन र सीपको सदुपयोग गर्दै उद्यमशीलताको विकास गर्न सकेमा मात्र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोतीराज सापकोटाले उद्यमीलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादनको बजारीकरण र व्यवसाय विस्तारमा सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सम्मानित उद्यमीहरूले स्थानीय स्तरमा उपलब्ध स्रोतसाधन र सीपको प्रयोगसँगै व्यवसायमा निरन्तरको मेहनतले आम्दानी र रोजगारी सिर्जना गर्न आफुहरु सफल भएको अनुभव सुनाउनु भएको थियो । उहाँहरूले उत्पादित सामग्रिको बजारीकरण र नयाँ प्रबिधिको प्रयोगसँगै व्यवसाय विस्तारका लागि थप सहयोग आवश्यक पर्ने धारणा व्यक्त गर्नुभएको थियो ।