गुल्मी दरबार गाउँपालिका बजेट विनियोजन, कृषकलाई प्रोत्साहन गरिने

admin

२०८२ असार १२ गते, बिहीबार २०:३५ मा प्रकाशित

गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले व्यवसायीक रुपमा गोरु तथा राँगो पालक कृषकलाई प्रोत्साहन गर्न बजेट विनियोजन गरेको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड ३८ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको १७ औं गाउँसभामा उपाध्यक्ष तारा थापा ढेँगाले उक्त बजेट प्रस्तुत गर्दै नीति तथा कार्यक्रमसँगै नागरिकको अपेक्षा अनुसारको बजेट प्रस्तुत गरिएको जानकारी दिइन् । बजेट अनुसार पुँजीगत तर्फ २१ करोड ५७ लाख ८७ हजार रुपैयाँ र चालु तर्फ ३४ करोड ८० लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

पालिकाले पूर्वाधार विकास, कृषि सुधार, शिक्षा र स्वास्थ्य सेवा विस्तारमा विशेष जोड दिइएको छ ।

बजेटका प्राथमिकताहरुमा कृषि तथा पशुपालन प्रवर्द्धन भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति शैक्षिक गुणस्तर सुधार तथा पूर्वाधार विकास स्वास्थ्य सेवा प्रवर्द्धन र आधारभूत स्वास्थ्य संरचना निर्माण रहेका छन् । खानेपानी तथा सरसफाई विपद् व्यवस्थापन तथा जलवायु अनुकूलन क्रमागत आयोजना निर्माण कार्यलाई निरन्तरता स्वरोजगार र रोजगारी सिर्जना पर्यटन पूर्वाधारको विकास सामाजिक समावेशिता, लैङ्गिक समानता र सामाजिक रुपान्तरण गुणस्तरीय, प्रभावकारी तथा सर्वसुलभ सेवा प्रवाह बजेटमा समेटिएको छ ।