२८ असार २०८३, आईतवार
गुल्मीको सिद्धबाबामा विज्ञान सामग्री प्रदर्शनी
गुल्मी, २४ कात्तिक । विश्व विज्ञान दिवसको अवसरमा गुल्मीको सदरमुकाम तम्घास स्थित सिद्वबाबा माध्यमिक विद्यालयको आयोजनामा विज्ञान विषय प्रवद्र्धन कार्यक्रम अन्तर्गत जिल्लास्तरीय विज्ञान सामग्री प्रदर्शनी गरिएको छ ।
नेपालका ११४ विद्यालयमा सञ्चालित विज्ञान विषय प्रवद्र्धन कार्यक्रम अन्तर्गत गुल्मीमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा छनौट भइ सिद्वबाबा माध्यमिक विद्यालयमा गत आर्थिक वर्षबाट उक्त कार्यक्रम सञ्चालनमा रहेको छ । प्रतियोगितामा जिल्लाभरका १७ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका प्रधानाध्यापक डोरबिक्रम श्रीसले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमकोे उद्घघाटन गर्दै रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले अहिलेको युग विज्ञान र प्रविधिको युग भएको भन्दै प्रदर्शनीमा विभिन्न विद्यालयका प्रतियोगीहरुले राखेका विज्ञान सामग्री र यसबाट मानवीय जीवनलाई सहज तुल्याउन पुग्ने फाइदाका विषयमा जानकारी लिनुभएको थियो । उहाँले समग्र जिल्लालाई विज्ञान प्रविधिमा आधारित भएर विकासका कार्यहरु सञ्चालन गर्दा हुने दिगो विकास र यसबाट पुग्ने फाइदाका विषयमा विद्यार्थीहरुले निर्माण गरेका नमुना सामग्रीहरुको प्रदर्शनले थप सहयोग पु¥र्याउने बताउनुभयो ।
नगरप्रमुख पन्थीले अबको शिक्षा, विज्ञान र प्रविधिमैत्री हुनुपर्नेमा आफु सधैै स्पष्ट रहेको भन्दै यसले विद्यार्थीहरुको पठनपाठनका अतिरिक्त उनीहरु भित्र रहेका अन्तरनिहित प्रतिभाहरुको प्रस्फुटनका लागि यस्ता प्रकारका प्रतियोगीताहरुले महत्वपूर्ण सहयोग पु¥र्याउने बताउनु भएको थियो ।
उक्त विद्यालयका विद्यार्थीहरुले स्वस्फूर्त रुपमा विभिन्न खाना, खाजाका परिकारहरुको स्टल राखी पढाइ केबल बन्दकोठा भित्र पाठ्यक्रममा मात्र सिमिति नभई त्यसको व्यवहारिक अभ्यासबाट नै दिगो हुनेमा जोड दिएका थिए । यस्ता क्रियाकलाहरुबाट विद्यार्थीहरुको व्यवहारिक ज्ञान र सीपमा पनि महत्वपूर्ण सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले बताउनुभयो ।
प्रदर्शनीमा सिद्वबाबा मावि प्रथम, महेन्द्र मावि द्वितीय, रेसुंगा मावि तृतीय र अर्जुन आवासीय मावि र जनसहयोग मावि सान्त्वना भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय तृतिय र सान्त्वनाहुने विद्यालयलाई क्रमश नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।


