छत्रकोटमा नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

admin

२०८३ बैशाख २१ गते, सोमबार २१:५५ मा प्रकाशित

गुल्मी, २१ वैशाख । गुल्मीको छत्रकोट गाउँपालिकाले सोमबारदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाको वडा नं–३ स्थित भेँडुवामा निर्माण गरिएको अत्याधुनिक प्रशासनिक भवनबाट आजदेखि सेवा सुरु भएको गाउँपालिका अध्यक्ष रामपसाद पाण्डेले जानकारी दिनुभयो ।

नयाँ निर्माण गरिएको प्रशासनिक भवनमा सभाहल, बैठक कक्ष र कर्मचारीका लागि आवास सहित ३२ वटा कोठा रहेका छन् । चारतले उक्त भवनमा अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज रुपमा आवतजावतका लागि लिफ्टको समेत व्यवस्था गरिएको छ ।

संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा नौ करोड १० लाख ९९ हजार ४३५ रुपैयाँको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताउनुभयो । भवन निर्माणको लागि अम्बे माँ बलदेव जेभी, भरतपुरले जिम्म पाएको थियो । २०८० मङ्सिर ८ गते निर्माण सम्झौता गरिएको भवनको २०८० माघ १७ गते शिलान्यास गरिएको थियो ।

निर्माण कम्पनीले २०८२ असार ५ गतेभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता गरेको भए पनि निर्धारित समय भन्दा दुई महिना अघिनै भवन निर्माणको काम सम्पन्न गरी पािलकालाई हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले लामो समयदेखि पालिकाको आफ्नै प्रशासनिक भवनको आवश्यकता महसुस हुँदै आएको भन्दै नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारीहुने बताउनुभयो । “नयाँ भवन सञ्चालनमा आएपछि सेवाग्राहीले सहज रुपमा रूपमा सेवा पाउनुका साथै कर्मचारीहरुलाई पनि प्रभावकारी तरिकाबाट कार्य सम्पादन गर्न अब सजिलो हुने भएको छ,” अध्यक्ष पाण्डेले भन्नुभयो ।

सामुदायिक वनको जग्गा प्राप्ति सम्बन्धी प्रक्रिया पूरा गरी कुल १९ रोपनी ८ आना क्षेत्रफल मध्ये पाँच रोपनी क्षेत्रमा भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज रुपमा आवतजावत गर्नका लागि भवनमा लिफ्टको समेत व्यवस्था गरिएको छ ।

गाउँपालिकाले स्थापना कालमा भेँडुवामा भाडाको घरमा बस्दै थियो । त्यसपछि २०७७ सालदेखि गाउँपालिकाको सभाहल प्रयोजनका लागि निर्माण गरिएको सानो भवनलाई पार्टेसन गरी साँघुरो ठाउँबाट नागरिकलाई सेवा प्रवाह गर्दै आईरहेको थियो ।