एसईईमा ४ जीपीए ल्याउने छात्रा नगद १ लाख सहित सम्मानित

admin

२०८३ जेष्ठ ५ गते, मंगलवार १९:४५ मा प्रकाशित

गुल्मी, ५ जेठ । गुल्मीको सदरमुकाम तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ४ जीपीए प्राप्त गर्ने छात्रा दीक्षा पोखरेललाई नगदसहित सम्मान गरेको छ ।

विद्यालयले मंगलबार आयोजित कार्यक्रममा छात्रा पोखरेललाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र प्रशंसापत्रद्वारा सम्मान गरेको हो । विद्यालयले उनको मेहनत, लगनशीलता र शैक्षिक उत्कृष्टताको कदर गर्दै सम्मान गरेको जनाएको छ ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले मेहनत र निरन्तर अभ्यासले नै सफलता हासिल गर्न सकिने भन्दै विद्यार्थीलाई लक्ष्यप्रति प्रतिबद्ध रहन समेत आग्रह गर्नुभएको थियो । उहाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई स्थानीय तहले पनि प्रोत्साहन गर्ने नीति बनाएको बताउनुभयो ।

सम्मान कार्यक्रममा रेसुङ्गा माध्यमिक विद्यालय विद्यालयका प्रधानाध्यापक भागिरथ भण्डारीले विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीलाई प्रतिस्पर्धात्मक बनाउन निरन्तर प्रयास भइरहेको बताउनुभयो । उहाँले विद्यार्थीको सफलताकापछि विद्यालय, अभिभावक र शिक्षक सबैको मेहनत भएको उल्लेख गर्नुभयो । यस्ता प्रकारका सम्मानले आगामी दिनमा अन्य विद्यार्थीलाई पनि थप प्रेरणा मिल्ने उहाँको भनाई थियो ।

यसअघि सदरमुकाम तम्घासकै महेन्द्र माध्यमिक विद्यालयले पनि एसईईमा ४ जीपीए ल्याएकी छात्रा अस्मिता पाण्डेलाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरेको थियो । यस वर्ष गुल्मीबाट एसईईमा एक जना छात्र र पाँच जना छात्रासहित कुल छ जनाले ४ जीपीए प्राप्त गरेका छन् ।