२४ आश्विन २०८१, बिहीबार
‘नक्साको विषय मैले उठाएको हुँ, कसैलाई देवत्वकरण नगरौं’ : वामदेव गौतम
७ जेठ काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्ने विषय आफूले उठाएको बताएका छन्। साथै, यो मामिलामा निश्चित नामका व्यक्तिहरूलाई देवत्वकरण नगर्न र पार्टीको सामूहिक निर्णयप्रकृयाअनुार नेपाल सरकारले अनुमोदन गरेको वास्तविकतालाई स्वीकार गर्न पनि उनले आग्रह गरेका छन्। ‘नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भ मा मैले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु, यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु,’ इन्टरनेट सामाजिक सञ्जाल फेसबुकमा गौतमले लेखेका छन्, ‘यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ, हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ।’
नक्सा जारी गरेको जस लिने होडबाजी कसैले नगरौं : बाबुराम भट्टराई
वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य रहेको उल्लेख गर्दै गौतमले लेखेका छन्, ‘ऐेतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ, यसप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी छ।’ सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको गौतमले उल्लेख गरेका छन्। नयाँ नक्सालाई लिएर नेकपाभित्रकै केही नेताहरूले यो निर्णयको जस लिन खोजेपछि गौतमले त्यसमाथि प्रतिवाद गर्दै लेखेका छन्, ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ।’