सामाजिक संस्थाले रचनात्मक काम गरेको छ ः उपसभामुख थापा 

कमल पौडेल

२०८० कार्तिक २० गते, सोमबार ११:११ मा प्रकाशित

बाग्लुङ, कात्तिक २० । गण्डकी प्रदेशसभाका उपसभामुख विना थापाले सामाजिक संस्थाहरुले समाजमा सकारात्मक सन्देश सहित रचनात्मक कामहरु गरिरहेको बताउनु भएको छ । बालसंरक्षण मञ्च गल्कोट नगरपालिका ११, रिघाको २३ औं वार्षिकोत्सवको उद्घाटन गर्दै उपसभामुख थापाले सामाजिक संघ संस्था चलाउन सहज नभएको भन्दै स्थानियको सहयोगको लागि धन्यवाद दिनुभएको छ । पहिले साना क्लवहरुमा सौखमा खेलीने खेल पछि राष्ट्रको गौरव जोगाउने माध्यम बन्ने भन्दै उपसभामुख थापाले मेला तथा पर्वहरुले सामाजिक एकतासंगै मानिसका थकानहरु समेत मेटाउने बताउनु भएको छ । खेलमा युवाहरुको लगाव भौतिक पूर्वधारहरुको समस्या रहेको भन्दै आफू पनि जनप्रतिनिधि भएकोले त्यसको समाधान गर्ने जिम्मेवारी रहेको र त्यसका लागि सक्दो सहयोग गर्न पहल गर्ने प्रतिवद्धता बताउनु भएको छ।

कार्यक्रममा गल्कोट नगरपालिका वडा ११ का वडाध्यक्ष डम्बर श्रीस, रत्नलक्ष्मी माविका प्रधानाध्यापक तुल बहादुर श्रीस, खेलकुद विकास समिति रिघाका अध्यक्ष दान बहादुर श्रीस लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम वालसंरक्षण मञ्चका अध्यक्ष सञ्जय श्रीसको अध्यक्षता, सदस्य विमला विकको स्वागत मन्तव्य तथा पूर्व सचिव सोनाम श्रीसको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । मञ्चले २३ औं वार्षिकोत्सवको अवसरमा भलिवल प्रतियोगिता संगै खुल्ला नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत राखेको छ । कार्यक्रममा लोक गायीका पुस्पा राना, विष्णु सिंजाली, सम्झना रणपाल, नृत्यकार अस्मि सुनाम लगायतको प्रस्तुती रहेको थियो ।