नाकामा सक्नुभएन, क्वारेन्टिन बनाएर देखाउनुस् !

admin

२०७७ भाद्र २ गते, मंगलवार २२:१९ मा प्रकाशित

३२ साउन, काठमाडौं । लकडाउनका बेला भक्तपुर नगरपालिकाले बजार व्यवस्थापन र राहत वितरण व्यवस्थित रुपमा गरेको थियो । अहिले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा हामीले फेरि एकचोटि भक्तपुर नगरपालिकालाई सम्झियौं । संक्रमण रोकथाम र बिरामीहरुको उपचारमा भक्तपुर नगरपालिकाले कसरी काम गरिरहेको होला ?

लकडाउनमा स्थानीयबासीका गुनासाहरु सम्वोधन गरेर प्रशंसा कमाएको भक्तपुर नगरपालिका यतिबेला संघ र प्रदेश सरकारसँगै गुनासो गर्ने अवस्थामा आइपुगेको छ । संघीय सरकारले समन्वयकारी भूमिका नदेखाएका कारण काठमाडौं उपत्यकामा कोरोना फैलिएको स्थानीय जनप्रतिनिधिको गुनासो छ ।

स्थानीय तहहरुले रात दिन नभनी काम गरिरहेका बेला केन्द्र सरकारले नाका व्यवस्थापन गर्न नसकेको र स्थानीय तहलाई चिठी लेख्नेबाहेक अर्थोक काम नगरेको भक्तपुरको आरोप छ सिंहदरबारलाई । उपत्यकाका तीनै नगरपालिकाले गृहमन्त्रीलाई दिएको सुझावसमेत कार्यान्वयन हुन नसकेको भक्तपुरको गुनासो छ ।

केन्द्रको समन्वयकारी भूमिका नहुँदाहुँदै पनि भक्तपुर नगरपालिकाले कोरोना रोकथाममा गरिरहेको काम भने व्यवस्थित नै देखिएको छ । तथापि क्वारेन्टिन बनाउने काम चाहिँ स्थानीय तहलाई नभई केन्द्र सरकारलाई नै दिइनु व्यवहारिक हुने भक्तपुर नगरपालिकाका प्रमुखको सुझाव छ ।

राहत वितरणमा नमूना योग्य काम गरेको भक्तपुर नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि के–कस्ता कामहरु गरिरहेको छ त ?