२४ आश्विन २०८१, बिहीबार
गुल्मीमा डिभाइन युथ क्लब द्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण
अनिल खत्री
२६ मंसिर, गुल्मी । राधा माधव समिति नेपाल अन्तर्गतको डिभाइन युथ क्लब नेपाल गुल्मीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाडगाउँमा अबस्थित पृथ्वी प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
संस्थाले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमै पुगेर कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ३८ जना विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरेको छ । गरिब, विपन्न, जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी खोजेर वितरण गरिरहेको राधा माधव समिति नेपाल गुल्मीका सचीव तारा भुसालले बताउनुभयो ।
संस्थाको स्थापना कालदेखि विद्यार्थीलाई न्यानो कपडा बोकेर गाउँका कुनाकन्दरा पुग्ने गरेको भुसालले बताए । २०६५ सालमा स्थापना भएको उक्त संस्थाले प्रत्येक बर्ष जिल्लाका विभिन्न स्थान विद्यालमा पुगेर गरिब बिपन्न विद्यार्थीलाई कपडा वितरण गर्दै आएको छ ।
चिसो समयमा विद्यार्थी कपडा वितरण गरेर सहयोग गर्न पाएकोमा सामाजिक कार्यमा उत्साह बढेको राधा माधव समितिका संयोजक महाशर्मा भण्डारीले बताए । झण्डै एक लाख बराबरको विद्यार्थीलाई टोपी, झोला, सुइटर र ट्र्याक वितरण गरिएको हो ।
जिल्लाभर करिब ३ सय भन्दा बढी आवद्ध रहेको संस्थाका सदस्यहरुले खाजा खर्च वापतको रकम बचाएर सामाजिक कार्य गर्ने गरेका छन् । गाउँका कुनाकन्दरा पुगेर विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा पृथ्वी प्राथमिक विद्यालयका प्रधानाध्यापक विष्णुमाया पोखरेलले धन्यबाद दिइन ।
उनले कुनैपनि सहयोग गाउँगाउँमा कम आउने गरेको समयमा यो संस्थाले गाउँका विद्यार्थीहरुको खुसी मुहार प्रदान गर्ने काम गरेको उनले बताइन । पछिल्लो समय ग्रामिण क्षेत्रमा विद्यार्थीको संख्या घट्दै गएको बताउँदै वडाध्यक्ष बाबुराम खत्रीले न्यानो कपडा हस्तान्तरण कार्यक्रमले विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने बताए ।
विद्यालय व्यावस्थापन समिति अध्यक्ष चेतमान कुँवरले २०४५ सालमा जनताको लगानीबाट संचालन गरेको विद्यालयमा संस्थाले गरेको सहयोगको प्रंशसा गरे । उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताए ।