२४ आश्विन २०८१, बिहीबार
अग्लुङ्गका ज्येष्ठ नागरिकलाई बल्याङकेट वितरण
गुल्मी, पुस २४ गते । गुल्मीको सदरमुकाम तम्घासदेखि भौगोलिक रुपमा टाढा रहेको मदाने गाउँपालिका वडा नम्बर – १ अग्लुङ्गले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । यस वडाभित्र रहनुभएका ८४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप बल्याङकेट वितरण गरिएको हो ।
पछिल्लो समय घर-परिवारमा ज्येष्ठ नागरिकहरु एक्लै भएको हुँदा उहाँहरुलाई स्थानीय सरकार साथमा रहेको आभास दिलाउन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत बल्याङकेट वितरण गरिएको वडाअध्यक्ष सुशील चन्दले बताउनुभयो ।
एक औपचारिक कार्यक्रमका बीच यस वडामा रहनुभएका १४ जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप बल्याङकेट वितरण गरिएको हो । चिसो मौसमले ज्येष्ठ नागरिकलाई धेरै नै असर गर्ने भएको हुँदा यसलाई मध्यनजर गर्दै उहाँहरुको सम्मान स्वरुप बल्याङकेट वितरण गरिएको वडाअध्यक्ष चन्दले बताउनुभयो ।
ज्येष्ठ नागरिकलाई बल्याङकेट वितरण गर्नुहुँदै उहाँले ज्येष्ठ नागरिक जिउँदो इतिहास भएको भन्दै ज्येष्ठ नागरिक अनुभवकाे विश्वविद्यालय भएको बताउनुभयो । पछिल्लो समय रोजगारीको सिलसिलामा ज्येष्ठ नागरिकका छोराछोरीहरु विदेश जाने क्रम बढेसंगै उहाँहरुले राम्रो हेरविचार नपाएको प्रति वडाअध्यक्ष चन्दले चिन्ता व्यक्त गर्नुभयो ।
ज्येष्ठ नागरिकहरुले वडाबाट दिनप्रतिदिन चिसो बढिरहेको समयमा बल्याङकेट पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँहरुले सरकारले सामाजिक सुरक्षा भत्तासंगै समय-समयमा यस्ता महत्त्वपूर्ण कार्यक्रम गरेको प्रति अत्यन्तै खुसी भएको बताउनुभयो ।