२४ आश्विन २०८१, बिहीबार
आगोलागीले क्षतीग्रस्त सिदुङखामा राहत र उद्धारमा जुटे संघसंस्था
अनिल खत्री
१० वैशाख, गुल्मी । गुल्मीमा आगोलागीले क्षतीग्रस्त बनेको स्थलमा राहत र उद्धारमा जुटेका छन् । आगोलागीले धेरै नै क्षती पुर्याएको इस्मा गाउँपालिका वडानम्बर–२ सिदुङखा र हाडीखोलामा राहत र उद्धारको लागि विभिन्न निकाय सक्रिय भएका हुन् ।
शनिबार स्थानीय सामुदायिक बनमा लागेको आगो एक्कासी बस्तीमा पस्दा ठूलो क्षती पुगेको छ । आगोलागीबाट एउटै गाउँ सिदुङखामा ११ वटा र हाडीखोलामा ६ वटा गरि १७ वटा घर जलेर नष्ट भएका छन् ।
आगोलागीमा १९ वटा बंगाला, २३ वटा बाख्रा, ७ वटा भैँसी, १ वटा पाडो, २ वटा कुटानी पिसानी मिल, २ वटा किराना पसल जलेर नष्ट भएका हुन् । आगोलागीले धेरै क्षती भएको स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले जलेका घरहरुको संरचना पुन्छ्याउने र मरेका पशु पंक्षीलाई व्यवस्थापन गर्ने कार्यमा जुटेका छन् ।
बस्तीमा महामारी फैलीन नदिन समयमै पशुपंक्षीलाई व्यवस्थापनमा ध्यान दिइएको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताए । आगोलागी प्रभावित नागरिकहरुको स्वास्थ्य परीक्षणका लागी स्वास्थ्यकर्मी खटिएका छन् ।
घरगोठ जलेपछि स्थानीय खुला आकाशमुनी बस्न बाध्य बनेका नागरिकको लागि गाउँपालिकाले तत्कालका लागि आबश्यक पर्ने सामाग्रीको जोहो गरेको छ । आगोलागी प्रभावित क्षेत्रमा खानेपानी विद्युतको सम्पर्क टुटेको छ ।
त्यसको पुनः निर्माणका निम्ती गाउँपालिकाका खानेपानी र विद्युतका कर्मचारी परिचालन गरिएको छ । आगलागीबाट भएको क्षतिको थप विवरण जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिले संकलन गरिरहेका छन् ।
स्थानीय सरकारले आगलागी घटनास्थलमा राहातको व्यवस्था सुरु गरिरहेका छन् । पहिलो चरणमा तत्काल आबश्यक पर्ने खाद्ययन्न लगातयतका कार्यहरुमा पालिकाले वितरण गर्न शुरु गरेको छ ।
त्यस्तै विभिन्न संघ संस्थाले प्रभावित क्षेत्रमा पुगेर राहत सामाग्री पुर्याउने काम गरेका छन् । आगलागी स्थलमा राहात लिएर जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्री, इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितका सुरक्षा निकाय र उद्योग वाणिज्य संघ गुल्मीका टिम पुगेका थिए ।
पीडितलाई आधारभूत आवश्यकताका आधारमा राहात दिलाउने काम भइरहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताए । जंगलसँगै बस्ती पनि आगोले सखाप बनेपछि हरियोसँगै सुकेका पनि सबै घाँस नष्ट हुँदा बाँचेका पशुचौपायलाई बचाउन समस्या छ ।
त्यसका लागि अनेत्र ठाउँबाट घाँस संकलन गरेर प्रभावित क्षेत्रमा नागरिकहरुले पुर्याउन थालेका छन् । हावाहुरीसँगै हावाहुरीकै बेगमा बस्तीमा पसेको आगोले आफ्नै आँखा अगाडी सबै सखाप पार्दा आगलागी घटनास्थलका नागरिकमा ठूलो चोट पुगेको छ ।
घरमा भएको सबै श्रीसम्पति जलेर सकिदा नागरिक सबै गुमेपछि पिडामा छन् । आगोलागिले इस्माका विभिन्न ठाउँमा क्षती पुगेपछि गाउँपालिकाको कार्यपालिका बैठकले विस्थापित परिवारको सहयोगका लागि तत्काल राहत र उद्धारका निम्ती जुट्ेर जनप्रतिनिधिहरुले एक महिनाको पारिश्रमीक सहयोग गर्ने निर्णय गरेका छन् ।
त्यस्तै कर्मचारीहरुले पनि एक महिनाको पारिश्रमीकको ५ प्रतिशत रकम सहयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाले विपदमा सबैलाई सहयोगको आपिल गर्दै एकद्धार प्रणाली मार्फत राहत कोष जम्मा गरेर सहयोग गर्ने निर्णय गरेको छ ।
आगोलागी प्रभावितहरुको सहयोगार्थ जिन्सी सामाग्री भन्दा पनि नगद रकम जम्मा गरिदिन गाउँपालिकाले आग्रह गरेको छ । विस्थापित परिवारको घर निर्माणका निम्त रकम आबश्यक पर्ने भएकाले नगद रकम संकलन गरिदिन पालिकाको आग्रह छ ।
क्षती भएका प्रभावित क्षेत्रमा सबैको समन्वय मार्फत एकद्धारा पर्नाली मार्फत राहत वितरणको लागि टोली स्थलगत खटिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनले राहत उद्धारको लागि कुनैपनि कमी नरहने गरि काम अगाडी बढाइएको बताए ।
गुल्मीमा शनिबार मात्रै इस्मासँगै १३ ठाउँमा आगलागी भएको थियो । आगोलागीमा ४१ वटा घर, ४८ वटा बंगालो, ८३ वटा पशुचौपाय जलेर नष्ट भएका थिए । ९ वटा पशु घाइते भएका छन् । १ ट्याक्टर, २ कुटानी पिसानी मिल, १ मन्दिर, २ किराना पसलमा क्षती पुगेको प्रहरीले जनाएको छ ।