रेसुङ्गामा क्याबिनेट बैठक राख्न नगरप्रमुख पन्थीको आग्रहः प्रधानमन्त्री सकारात्मक

admin

२०८१ बैशाख २१ गते, शुक्रबार १०:२८ मा प्रकाशित

 

गुल्मी, बैशाख २१ । प्रचारप्रसारको अभावमा ओझेलमा परेको नेपालकै ऐतिहासिक लुकेर रहेको भूस्वर्ग रेसुंगाको देशव्यापी प्रचारमा लाग्नुभएका रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई रेसुङ्गामा क्याबिनेट बैठक राख्न आग्रह गर्नुभएको छ ।

रेसुंगालाई विकासको सेतुका रुपमा चित्रण गर्नुभएका नगरप्रमुख पन्थीले बिहिबार काठमाण्डौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, पर्यटनमन्त्री लगायतका देशका उच्चपदस्थ व्यक्तित्वहरुबीच ‘जाँऊ हिँड रेसुङ्गा’ अभियान अन्र्तगत पर्यटन प्रवद्र्धन कार्यक्रममा बोल्दै रेसुङ्गामा क्याबिनेट बैठक राख्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको हो ।

पर्यटन नै गुल्मीको आर्थिक विकासको महत्वपूर्ण माधम भएको पहिल्याउँदै नगरप्रमुख पन्थीले रेसुंगा विकासको सेतु भएको बताउनुभयो । रेसुंगामा अयोध्याका राजा दशरथलाई पुत्रलाभ नभएको बेला रेसुंगाका ऋषि जडिबुटि बोकर त्यहाँ गई पुत्रेष्टि यज्ञ गरेपछि मर्यादापुरुष राम, लक्षमण, शत्रुधनको जन्म भएको ऐतिहासिकता रहेको बताउँदै यस्तो पवित्र, अमृतभूमि, पावनभूमि, देवभूमि रेसुंगामा मन्त्रिपरिषद्को बैठकमा राख्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

नगरप्रमुख पन्थीको आग्रहमा प्रधानमन्त्री प्रचण्ड पनि सकरात्म देखिनुभएको छ । उहाँले गुल्मीको रेसुङ्गा क्षेत्रमा सरकारको क्याबिनेट बैठक राख्ने प्रयास गर्ने बताउँदै भन्नुभयो,–‘म एक पटक सुन्दर र शान्त क्षेत्र रेसुङ्गामा प्रधामन्त्रीकै हैसियतमा पुग्ने नै छुँ, यस क्षेत्रमा क्याबिनेट बैठक पनि राख्ने प्रयास हुनेछ,’।

पन्थीले रेसुङ्गालाई महत्त्वपूर्ण पूर्ण पर्यटकी गन्तव्य बनाउन यो अभियान अघि बढाइएको बताउनुभयो । रेसुङ्गाको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरेर देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताउनुभयो । पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गरेर पहाडी जिल्लाहरूको बसाइसराई रोक्न र रोजगारी वृद्धि गर्ने सकिने नगरप्रमुख पन्थीको भनाइ रहेको छ ।