२४ आश्विन २०८१, बिहीबार
रेसुङ्गा नगरलाई ‘हरित सहर’ घोषणा गरिने
अनिल खत्री
९ असार, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले ‘हरित सहर’ घोषणा गर्ने भएको छ । आर्थिक वर्ष ०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरप्रमुख खिलध्वज पन्थीले नगरलाई ‘हरित सहर’ घोषणा गरेर दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने नीति प्रस्तुत गरेका छन् ।
त्यस्तै नगरक्षेत्र भित्र अनुत्पादक रुखहरु हटाई वरपिपल, स्वामी जस्ता ऐतिहासिक रुखहरु र उत्पादनमुखी रुख, काठ, फलफूल तथा जडीबुटीहरु रोपण र संरक्षण गरिने नीति लिएको छ । ‘उज्यालो सहर जनताको रहर’ भन्ने नारालाई साकार तुल्याउन नगरपालिका भित्रका बजारक्षेत्रमा हाई माष्ट लाइट र स्मार्ट लाइट जडान गरिने नीति लिएको छ ।
नगरको सम्मुन्नतिका लागि विश्व बैंक, एसियाली विकास बैंक लगायतका अन्य दातृ तथा साझेदार निकायसँगको समन्वयमा विकास निर्माणको कार्य अगाडी बढाइने नगरपालिकाको नीति कार्यक्रम रहेको छ । ‘स्वाच्छ नगर स्वस्थ नागरिक’ भन्ने मूल नाराका साथ नगरपालिकाका प्रत्येक घरमा संभव भएसम्म कम्तिमा दुईवटा फलफूल तथा सौन्दर्यीकरणका विरुवा रोप्ने कार्यलाई अभियानको रुपमा सञ्चालन हुने भएको छ ।
‘नागरिकसँग मेयर कार्यक्रम’ मार्फत नगरपालिकाका सबै वडाहरुमा पुगी सेवा प्रवाह, सवकास निर्माण लगायतका विषयहरुमा नागरिकसँग समय–समयमा साक्षात्कार गरिने कार्यलाई निरन्तरता दिइने नीति प्रस्तुत भएको छ । रेसुङ्गाको धार्मिक महत्वलाई प्रर्वद्धन गर्न भारतको अयोध्या र गोरखपुरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गरिने भएको छ ।
कक्षा ८ भन्दा माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीलाई पढाइसँगसँगै सीपसँग जोड्न पहल गरिने भएको छ । ‘आमासँग उपमेयर कार्यक्रम’ मार्फत गर्वभती महिला लक्षित विभिन्न सूचना र सन्देशमूलक कार्यक्रम सञ्चालन गरिने नीति नगरपालिकाले लिएको छ ।
गर्वभती महिलालाई सुत्केरी सेवा लिनकाृ लागि एकोहोरो यातायात खर्च उपलब्ध गराउन नीति नगरपालिकाले लिएको छ । त्यस्तै किसानसँग नगरपालिका कार्यक्रम सञ्चालन गरिने भएको छ ।
व्यवसायिक कृषि तथा पशुपालन गर्ने किसानहरुमध्येबाट उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने भएको हो । ‘मेयरसँग रोजगार’ कार्यक्रम सञ्चालन हुने भएको छ ।
युवा स्वरोजगार कार्यक्रमलाई व्यवस्थित र थप प्रभावकारी बनाउदै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित गरिने भएको छ । नगरभित्र रहेका लोपोन्मुख भाषा, भेषभूषा, संस्कृति र परम्पराहरुको जगेर्ना र प्रवद्र्धन गर्नका दागि विशेष कार्यक्रमहरु सञ्चालन गरिने नीति लिएको छ ।
त्यस्तै रेसुङ्गाको पर्यटन प्रवद्र्धनका लागि पर्यटन दुत नियुक्त गरिने भएको छ । एक वडा एक खेल मैदान वा कभर्डहल निर्माण कार्यलाई निरन्तरता दिइने भएको छ ।
पर्यटनलाई बढवा दिन रेसुङ्गा क्षेत्रमा स्काई साइकिलिङ्ग, जीपलाइन, घोडचडी जस्ता साहसिक खेलहरु सञ्चालन गरिने भएको छ ।