राजनीतिक स्थायित्वका लागि काँग्रेस‐एमाले गठवन्धन आवश्यक ः उपमहासचिव ज्ञवाली

admin

२०८१ श्रावण ७ गते, सोमबार १९:०० मा प्रकाशित

 

गुल्मी, ७ साउन । नेकपा एमालेका केन्द्रिय उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व र देशको अबस्था परिवर्तनका लागि काँग्रेस‐एमाले गठवन्धन सरकार आवश्यक परेको बताउनु भयो । पटक पटक सरकार परिवर्तनले देशमा अस्थीरता उत्पन्न भएको भन्दै त्यसलाई जोगाउन र मुलुकमा स्थीरता ल्याउनका लागि पनि ठूला दलहरु एक हुनुपरेको उहाँको भनाई थियो ।

प्रेस चौतारी नेपाल गुल्मीले सोमबार सदरमुकाम तम्घासमा आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले उक्त कुरा बताउनु भएको हो । देशका दुई ठूला दलहरु दुई कित्तामा बाँढिदा अस्थीरताका शक्तिहरुले खेल्ने मौका पाउने र लोकतन्त्र खतरामा पर्ने ज्ञवालीको तर्क थियो । लोकतन्त्र खतरामा पर्दा त्यसको अपजस काँग्रेस र एमालेको काँधमा आउने भएका कारण लोकतन्त्रको रक्षा गर्न दुई ठूला दलहरुको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई थियो ।

वर्तमान सरकार गठक भएसँगै देशले नयाँ कोर्ष लिन शुरु गरेको भन्दै एमाले उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने प्रतिबद्धता जनाउनु भयो । संविधान संशोधनका विषयमा प्रतिपक्षहरुद्वारा उठाईएका कतिपय आरोपहरु गलत र निराधार भएको भन्दै उहाँले यदि संशोधन गर्नु पर्ने भएमा त्यसलाई अध्ययन गरेर मात्र अघि बढ्न सकिने बताउनु भयो ।

प्रचण्डको अस्थिर राजनीति र ठूला दलहरुलाई उपयोग गरिरहने भ्रमका कारण राजनीतिलाई विसंगतिमा पुराएको ज्ञवालीको आरोप थियो । भष्ट्राचार विरुद्ध सरकार निर्मम हुने भन्दै यदि छानबिनको क्रममा कोही दोषी देखिएमा सरकार सहयोगी बनेर कार्वाही गर्न पछि नपर्ने ज्ञवालीले बताउनु भयो ।

उप महासचिव ज्ञवालीले राजनीतिक स्थायित्वले मात्र मुलुक आर्थिक र सामाजिक रुपमा संम्बृद्ध बन्ने बताउनु भएको थियो । पुष्पलाल स्मृति दिवशको अवशरमा एमाले गुल्मीको सोमबार भएको सफद ग्रहण कार्यक्रमका लागि ज्ञवाली गृह जिल्ला आउनु भएको हो ।