२३ भाद्र २०८१, आईतवार
पहिरो गएपछि गुल्मीको तम्घास–रिडी–वामीटक्सार सडक अबरुद्ध
गुल्मी, भदौ २ । गएरातीदेखि परेको अबिरल वर्षाका कारण गुल्मीको तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्ग अन्तरगत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडक माथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो ।
त्यसैगरी तम्घास‐रिडी सडक अन्तरगत रुरुक्षेत्र गाउँपालिका १ को रिडी खज्र्याङ् सडक र तम्घास‐रिडी सडक अन्तरगत रातामाटामा सडक माथिबाट चट्टान सहितको पहिरो खसेपछि गएरातीबाट उक्त सडक समेत पूर्णरुपमा अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अविरल वर्षाका कारण रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अन्तरगत सत्यवती गाउँपालिका ६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अबरुद्ध बनेको छ । सडक अबरुद्ध बनेपछि सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाण्डौसम्म जाने लामो तथा छोटोदुरीका सवारी साधनहरु बीचबाटोमै अलपत्र परेका छन । सडक सुचारु गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहेपनि वर्षा भैरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सुचारु गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनु भएको छ ।
बाढीले घर बगायो
त्यसैगरी अबिरल वर्षाका कारण गुल्मीको छत्रकोट गाउँपालिका ५ दुमैमा खोलामा आएको बाढीले स्थानीय रामबहादुर बुचाको घर बगाईदिएको छ । बुचाको दुईतले घर बगाउँदा दुइवटा बाख्रा सहित १५ वटा कुखुरा मरेका छन भने एउटा स्कुटर समेत बगाईदिएको छ । उक्त घटनामा मानवीय क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
हावाहुरी सहित आएको वर्षाका कारण मकैवालीमा समेत पूर्ण रुपमा क्षती पुराएको छ । वर्षाका कारण ग्रामिण क्षेत्रबाट सदरमुकाम तम्घास आउने तीनदर्जन भन्दा बढी सडकहरु समेत अबरुद्ध बनेको बताईएको छ । बर्षाका कारण थप जोखिम बढन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सर्तभइ सुरक्षीत स्थानमा बसोवास गर्न आग्रह गरेको छ ।