निजामती सेवा ऐन चाँडो जारी गर्न युनियनको माग 

admin

२०८१ भाद्र १९ गते, बुधबार १९:०१ मा प्रकाशित

गुल्मी, १९ भदौ । गुल्मीको सदरमुकाम तम्घासमा बुधबार आयोजित एक कार्यक्रममा सहभागि नेपाल निजामती कर्मचारीहरुले संघिय निजामती सेवा ऐन जारी नहुँदा कर्मचारीहरुलाई ठूलो समस्या परेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीद्वारा आयोजित ३५ औं युनियन स्थापना दिवसको अवशरमा कार्यक्रमका सहभागीले प्रतिनिधि सभामा दर्ता भएको संघिय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने बताएका हुन् ।

प्रदेश र स्थानीय तहको कर्मचारी कानुन बन्न नसक्दा समायोजन भएका कर्मचारीलाई सेवा प्रवाहमा बाधा उत्पन्न भएको नेपाल निजामती कर्मचारी युनियन गुल्मीका अध्यक्ष मेघलाल पाण्डेले बताउनु भयो ।

सोही अवसरमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले संघिय निजामती सेवा ऐन जारी नहुँदा निजामती कर्मचारीमा समस्या आएको हुन सक्ने भन्दै संघिय निजामती सेवा ऐन जारी गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले हरेक निजामती कर्मचारीले नागरिकलाई मुस्कानसहितको सेवा प्रवाहका साथै सुशासन कायम गर्नेतर्फ ध्यान दिनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नविन कुमार पन्थी, नेपाली काँग्रेसका नगर सभापति जयश्वर पन्थी, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन गुल्मीका अध्यक्ष खिमबहादुर अधिकारी लगायतका वक्ताहरुले स्थापना दिवशको अवशरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

नेपाल निजामती कर्मचारी युनियनको ३५ औं स्थापना दिवसको अवशरमा जिल्लामा तीज मिलन कार्यक्रम, अक्षयकोष दाता सम्मान, युनियन शैक्षिक छात्रवृत्ति वितरण, जटिल रोगबाट पीडितलार्ई सहयोग हस्तान्तरण, गुल्मी कारागारका कैदीबन्दीकहरुको लागि पुस्तक वितरण, रेसुङ्गा गौशालामा गाईको लागि खाद्यान्न हस्तान्तरण गर्नुका साथै नेपाली काँग्रेस पाटि कार्यालय र बालमन्दिरलाई एकएक थान रोष्टम समेत हस्तान्तरण गरिएको युनियनका सचिव डिवी थापाले जानकारी दिनुभएको छ ।