गुल्मेली पत्रकार थापा टेक्सासको आर्लिगंटन सिटि मेयरको सल्लाहकारमा 

admin

२०८३ आश्विन २० गते, मंगलवार ०८:४२ मा प्रकाशित

टेक्सास– अमेरिकाको टेक्सास राज्यको आर्लिंगटन सिटीको मेयरको सल्लाहाकारमा गुल्मेली पत्रकार सूर्य थापा सहित ३ नेपाली चयन भएका छन् । टेक्सासको आर्लिगंटन सिटि मेयर जिम रोसले दक्षिण एसिया सम्बन्धी सल्लाहाकर परिषद गठन गर्दै ३ जना नेपालीलाई समेत सल्लाहकार समितीमा राखेका छन् । सोमबार मेयर रोसले आफ्नो कार्यालयमा भएको छलफलमा आर्लिगंन सिटीमा दक्षिण एसियाका देशहरुबाट आएकाहरुको संख्या पनि बढ्नु सिटीका लागि निकै खुशीको कुरा भएको बताउंदै यो समुदायलाई सिटी समक्ष अझै सहज रुपमा पहुंच पुगोस् भन्ने उद्धेश्यले आफुले दक्षिण एसिया सम्बन्धी सल्लाहाकर परिषद बनाउने योजना बनाएको बताएका हुन् । सल्लाहकार समितीमा नेपाली समुदायबाट सूर्य थापा, डाक्टर चण्डी भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् । पत्रकार थापा गुल्मीको सिर्सेनीमा जन्मेर लामो समयदेखी अमेरिकामा रहेर पनि नेपाली पत्रकारीतामा सकृय रहेका छन् ।

हालका लागि नेपाली र भारतीय समुदायका मात्र प्रतिनिधीहरु समेटिएको भए पनि यो समितीलाई साउथ एसियाका अन्य देशका प्रतिनीधीहरु पनि थप्दै लैजाने योजना रहेको बताएका छन् । आर्लिगिंटन सिटी अमेरिकाकै तेश्रो धेरै समुदायका मानिसहरु बस्ने सिटीमा पर्दछ भने टेक्सासको एक नम्बर बिविध समुदायका मानिसहरु बस्ने शहरमा पर्दछ । सल्लाहकार परिषदको गठन पश्चात पत्रकार समेत रहेका सूर्य थापाले खुशी ब्यक्त गर्दै अमेरिकाको शहरहरुमा यसरी नेपाली समुदायलाई पनि समेट्दै लैजानु धेरै खुशीको कुरा भएको बताएका छन् । सल्लाहाकार समितीमा हाल ३ जना नेपालीसंग भारतीय समुदायबाट रेक्स आनन्द, डाक्टर अजय सोबती र हेमल पटेल रहेका छन् ।