३ आश्विन २०८३, शनिबार
रसुवाका बाढी पीडितलाई गुल्मेली समाज जापानद्वारा छ लाख सहयोग
जापान, १ असोज । जापानमा रहेका नेपालीहरूको साझा संस्था गुल्मेली समाज जापानले रसुवाका बाढीपहिरो पीडित परिवारका लागि छ लाख राहत रकम सहयोग गरेको छ । समाजद्वारा सङ्कलित उक्त रकम बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाका अध्यक्ष कृष्ण पोख्रेलले जानकारी दिनुभयो ।
गुल्मेली समाज जापान केन्द्रीय कार्यालयको संयोजन तथा विभिन्न संघ–संस्थाहरूको सहकार्यमा आयोजना गरिएको च्यारिटी कार्यक्रम मार्फत उक्त रकम सङ्कलन गरिएको अध्यक्ष पोख्रेलले बताउनुभयो । सङ्कलित नेपाली छ लाख रुपैयाँ समाजका प्रतिनिधिहरूको सहभागितामा आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको छ ।
समाजले विगतदेखि नै गुल्मी जिल्लाभित्र बाढीपहिरो, आगलागी जस्ता दैवी प्रकोपमा परेकालाई उद्धार तथा राहत सामग्री वितरणका गर्नुका अतिरिक्त स्वास्थ्य, शिक्षा र सामाजिक विकासका क्षेत्रमा सहयोग गर्दै आएको छ । समाजले विदेशमा रहेका गुल्मेलीहरु मार्फत सामाजिक अभियानलाई निरन्तरता दिँदै यसपटक रसुवाका पीडितको सहायताका लागि उक्त रकम जुटाइएको संस्थाले जनाएको छ ।
गुल्मेली समाज जापानका निवर्तमान अध्यक्ष महेन्द्रकुमार अधिकारीले आफुहरु प्रवासमा रहे पनि मातृभूमिमा परेको सङ्कटमा सधैँ साथ दिँदै आएको बताउनुभयो । यस अघिका विपद्जन्य घटनामा पनि समाजले जिल्लामा पटक पटक सहयोग गर्दै आएको छ । सामाजिक दायित्व अन्तर्गत दुखमा हामी पनि साथमा छौ है भन्ने सन्देश प्रवाह गर्न खोजेको उहाँले बताउनुभयो ।
उक्त राहत अभियानमा गुल्मेली समाज जापानका केन्द्रीय तथा क्षेत्रीय समितिहरू कान्तो र कान्साई सहित वामी सेवा समिति, वामी शालिमे समाज, बडागाउँ सेवा समिति, रुपाकोट सेवा समिति, गुल्मी सत्यवती समाज, भीम फाउन्डेशन, दिब्रुङ समाज लगायतका संघ–संस्थाहरुको सहयोग रहेको बताईएको छ । अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुराउने सबै सहयोगी तथा शुभेच्छुक विभिन्न संघ–संस्थाहरूलाई समाजको तर्फबाट धन्यवाद समेत व्यक्त गरिएको छ ।

