२ चैत्र २०८१, आईतवार
गुल्मी कारागारमा पुस्तकालय स्थापना

गुल्मी, २२ भदौ । गुल्मी कारागारमा कैदी बन्दीहरुका लागि पुस्तकालय स्थापना गरिएको छ । २१ औं निजामति सेवा दिवशको अवशरमा थुनुवामा रहेका कैदी बन्दीहरुका लागि पचास हजार मुल्य बराबरको पुस्तक प्रदान गरिएको हो । विभिन्न कसुरमा थुनुवामा रहेका कैदी बन्दीहरुको माग अनुसार पहिलो पटक यसरी कारागार भित्र पुस्तकालयको स्थापना गरिएको कारागार प्रमुख रेश्मीराज पन्थीले जानकारी दिनुभयो ।
कैद जीवन भुक्तान गरिरहेका कैदी बन्दीहरुका लागि आजदेखि उनीहरुले रोजेका विभिन्न प्रकारका पुस्तकहरु अध्ययन गर्न पाउने भएका छन । जिल्ला प्रशासन कार्यालय गुल्मीको संयोजनमा नेपाल निजामति कर्मचारी युनियन, कर्मचारी मिलन केन्द्र गुल्मी र विभिन्न व्यावसायीक संघ संस्थाहरुको सहयोगमा करिब ५० हजार मुल्य बराबरको पुस्तकहरु खरिद गरि हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयबाट समय समयमा गरिने कारागार अनुगमन तथा निरिक्षणको क्रममा त्यहाँका कैदी बन्दीले आफुहरुले पुस्तकहरु पढ्न नपाएको गुनासो गर्दै आईरहेका थिए । कैदी बन्दीहरुको माग बमोजिम तीन सय थान भन्दा बढी पुस्तकहरु हस्तान्तरण गरेर पुस्तकालय स्थापना गरिएको हो ।
हस्तान्तरण गरिएका पुस्तकहरुमा आयोगवाट आएका प्रतिवेदन तथा विभिन्न ऐन कानुनहरु, कथा, उपन्यास, निबन्ध, नियात्रा, जीवन परिवर्तनका असल अध्यास, योग साधना, जीवनी तथा आत्मकथा लगायतका पुस्तकहरु रहेका छन । यस्ता प्रकारका पुस्तकहरुको अध्ययनसँगै उनीहरुको सोँचाईसँगै जीवन परिवर्तन गर्न थप सहज पुग्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।
यसरी आफ्ना माग बमोजिम जिल्ला प्रशासन कार्यालयको पहलमा पुस्तकहरु उपलब्ध गराएर पुस्तकालय स्थापना भएसँगै कारागारका कैदी बन्दीहरु पनि निकै खुसि बनेका छन । पच्चिस जनाको मात्र क्षमता रहेको गुल्मी कारागारमा हाल १०१ पुरुष र ७ महिला सहित १०८ जना कैदी बन्दीहरु रहेका छन् ।