२४ आश्विन २०८१, बिहीबार
आफु बिरामीपर्दा जिल्लाका विकास योजना पनि बिरामी परे ः भण्डारी
गुल्मी, २७ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा.चन्द्र भण्डारीले आफु बिरामीपर्दा जिल्लाका विकासका योजनाहरु पनि बिरामी परेको बताउनु भएको छ । उहाँले आफ्नो स्वास्थ्यमा धेरै सुधारहुँदै गएको भन्दै यस पटकको बजेटमा गुल्मी जिल्लामा सबैभन्दा धेरै योजना र बजेट ल्याउन सफल भएको बाताउनुभयो । उहाँले बजेट अभाबका कारण विकास निर्माणका काम नरोकिने बताउनु भएको छ ।
नेपाली काँग्रेस रेसुङ्गा नगर समितिले बिहिबार जिल्ला सदरमुकाम तम्घास स्थित बीपी स्मृति भवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले उक्त कुरा बताउनु भएको हो । पार्टीमा युवा नेताहरूको सक्रियता बढ्दै गएको भन्दै अब पार्टी शशक्त बन्दै जाने पनि बताउनु भयो ।
उहाँले आगामी निर्वाचनमा गठबन्धन विना पार्टीहरू एक्ला एक्लै चुनावमा जाने परिस्थिति आउन सक्ने बताउनुभयो । भण्डारीले जनप्रतिनिधिले गरेका विकासका काम सबै ठाउँका नागरिकहरूले प्रत्यक्ष रुपमा देखिने हुनुपर्ने बताउनुभयो छ । जनताले अब नेताहरुको भाषण सुन्न भन्दा पनि काम र थप रोजगारीका अवशरहरु खोजीरहेको भन्दै युवा जनशक्तिलाई स्वदेशमै उद्यमशिलतासँग जोड्ने वातावरण बनाउनु पर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा प्रदेश सांसद धनेन्द्र कार्कीले काँग्रेस सांसदहरूले निर्वाचित भएपछि समान विकासको अवधारणालाई अगाडि बढाएको बताउनुभयो । प्रदेशमा सिंहदरबार भन्दा ठुला भवन बनिरहेको बताउँदै उहाँले आर्थिक स्थीति कमजोर भएका कारण प्रदेशले सम्पन्न भएका योजनाको भुक्तानि समेत दिन नसकेको औल्याउनु भयो ।
सोही कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टी भित्र असन्तुष्टि बढ्दै गएको बताउनु भएको छ । उहाँले पार्टी संस्थागत हुन नसकिरहेको बताउँदै त्यसका लागि गुटबन्दीको अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो । यसलाई पार्टी नेतृत्वले गम्भीर रूपमा लिनुपर्ने उहाँको भनाई थियो ।
रेसुङ्गा नगर समितिले आयोजना गरेको उक्त कार्यक्रममा नगर सभापति जयश्वर पन्थीले पछिल्लो समयमा कार्यकर्ताहरुका निरासा बढदै गएको भन्दै त्यसलाई समाधानका लागि युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण बनाउनु पर्ने बताउनु भएको थियो ।