चाडपर्वहरु नजिकिँदै जाँदा गुल्मीमा बजार अनुगमनमा तिब्रता 

admin

२०८१ आश्विन ११ गते, शुक्रबार १६:०९ मा प्रकाशित

गुल्मी, १० असोज । चाडपर्वहरु नजिकिँदै जाँदा गुल्मीमा बजार अनुगमनलाई तिब्रता दिईएको छ । दशै, तिहार जस्ता मुख्य चाडपर्वहरुको पुर्व सन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरुको बिक्री बितररण हुन सक्ने अबस्थालाई ध्यान दिँदै जिल्लामा अनुगमनलाई तिब्रता दिईएको हो ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा सानाउद्योग कार्यालय र स्थानीय पालिकाहरुले मुख्य मुख्य बजार क्षेत्रका पसलहरुको अनुगमन गरि म्याद गुज्रिएका सामानहरु बरामद गरि व्यावसायीहरुलाई त्यस्ता सामानहरु बिक्री बितरण नगर्न निर्देशन दिएका छन । बजार अनुगमनका क्रममा कतिपय व्यावसायीहरुले व्यावसाय दर्ता नगरी पसल सञ्चालन गर्दै आएको, स्थानीय पालिकाहरुमा व्यावसाय दर्ता नगर्ने, समयमा राजस्व नबुझाउने, पान नम्बर दर्ता नगरेको, लेवल नलगाई सामानहरु प्याक गर्नेे, उपभोग्य मिति नभएको र म्याद सकिएका सामानहरु राख्ने गरेको पाईएको छ ।

जिल्लाको रेसुङ्गा, मुसिकोट, धुर्कोट, कालीगण्डकी, सत्यवती, मदाने, सान्तिपुर, मालीका लगायतका पालिकाहरुमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएका दाल, मैदा, सुजी, चुरोट, बिस्कुट, चाउचाउ, कुरमुरे, चिउरा, दालमोड, आसक्रिम, मिठाई, कोक, तेल, लगायतका दर्जनौ सामग्रिहरु जफत गर्नुका साथै व्यापारी र उपभोक्ताहरुलाई सचेत गराईएको घरेलु तथा सानाउद्योग कार्यालय गुल्मीका प्रमुख राजिब अर्यालले जानकारी दिनुभएको छ ।

चाडपर्वको समयमा बजारमा कृतिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, महँगी सृजना गर्ने, अस्वस्थ खाद्य वस्तुहरुको बिक्री बितरण गर्ने जस्ता गुनासाहरु आउन नदिनका लागि दशै शुरुहुनु अघिनै बजार अनुगमनलाई तिब्र पारिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनु भयो । उनले अनुगमनको क्रममा ठूलो कसुर गरेको भेटीए उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐन अन्र्तगत कारर्वाही समेत गरिने उहाँले बताउनु भयो ।

अनुगमन टोलीले पछिल्लो समयमा कालीगण्डकी गाउँपालिका अन्र्तगत पुर्तिघाट, फोक्सिङ् र सत्यवती गाउँपालिका अन्र्तगत भार्से, जुनिया, जोहाङ् खैरेनी, साहघाट र रुद्रवेणी लगायतका मुख्य बजारहरु क्षेत्रका दुइ सय ५० भन्दा बढी पसलहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन, घरेलु कार्यालय र पालिका सहितको संयुक्त टोलीले अनुगमन गर्दा बजार अनुगमन थप प्रभावकारी देखिएको सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले बताउनु भयो ।

अनुगमनको क्रममा दुई साताको अबधिमा जिल्लाको रेसुङ्गा, धुर्कोट, मदाने, मालिका, मुसिकोट, चन्द्रकोट, कालीगण्डकी र सत्यवती गरी आठ वटा पालिकाका पाँच सय भन्दा बढी पसलहरुको अनुगमन गरिसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तारानाथ फुल्देलले जानकारी दिनुभएको छ ।