गुल्मीको तम्घास–रिडी, रुद्रबेणी–वामीटक्सार र कालीगण्डकी करिडोर सडक अवरुद्ध

admin

२०८१ आश्विन १२ गते, शनिबार ०८:४५ मा प्रकाशित

गुल्मी, १२ असोज । अबिरल वर्षाका कारण गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास‐रिडी रिडी सडक खण्ड अन्र्तगत रेसुङ्गा नगरपालिका ११ अन्र्तगत उर्लेनी, गुल्मीदरबार गाउँपालिका ४ अन्र्तगत बिरबास र छत्रकोट गाउँपालिका ३ अन्र्तगत लुम्छामा सडक माथिबाट पहिरो खसेपछि गएरातीदेखि सडक अवरुद्ध बनेको हो ।

त्यसैगरी रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अन्तरगत सत्यवती गाउँपालिका ६ स्थित डहरेखोलामा पानीको बहाव बढेको र चन्द्रकोट गाउँपालिका ८ अन्र्तगत मजुवा बजार नजिकै बाघ खोलामा सडक माथिबाट पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि उक्त सडक समेत अवरुद्ध बनेको छ ।

बिहिबारदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर सडक अन्र्तगत गुल्मी सडक खण्ड समेत अबरुद्ध बनेको छ । उक्त सडक खण्ड अन्र्तगत कालीगण्डकी गाउँपालिका ४ अन्र्तगत पुर्तिघाटमा सडक माथिबाट पहिरो खसेपछि गए रातीदेखि सडक पुर्ण रुपमा अबरुद्ध बनेको हो ।

सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घास, वामीटक्सार र कालीगण्डकीको पुर्तिघाटदेखि पाल्पा, बुटवल र काठमाण्डौसम्म छुट्ने लामो तथा छोटोदुरीका सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन् । सवारी साधनहरु सञ्चालन नहुँदा त्यस क्षेत्रका नागरिकहरु समस्यामा परेका छन । सडक सुचारु गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहेपनि वर्षा भैरहेको कारण सडक सुचारु गर्न पहल भैरहे पनि पहिरोको जोखिमका कारण सडक सुचारु गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

लगातारको अविरल वर्षाका कारण ग्रामिण क्षेत्रबाट सदरमुकाम तम्घास आवतजावत गर्ने दर्जनौ सडकहरु समेत अवरुद्ध बनेका छन । लगातारको बर्षाका कारण जोखिम बढन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले खोलाको टटीय क्षेत्र र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सर्तकरहि सुरक्षीत स्थानमा बसोवास गर्न आग्रह गरेको छ ।