२४ आश्विन २०८१, बिहीबार
कालीगण्डकी करिडोर सडक अबरुद्ध
गुल्मी, १५ असोज । गुल्मीमा कालीगण्डकी करिडोर सडक अबरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडक अन्र्तगत रुद्रबेणी – पुर्तिघाट सडक सोमबारदेखि अबरुद्ध बनेको हो । कालीगण्डकी गाउँपालिका –२ स्थित अर्बेनीमा सडक माथिबाट ठूलो चट्टान सहितको पहिरो खसेपछि सडक पुर्ण रुपमा अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिनुभएको छ ।
अरुद्ध सडक सुचारु गर्न निर्माण व्यावसायी, स्थानीय पालिका र प्रशासनबाट पहल भएपनि सडक माथिबाट पहिरोसँगै ठूलो चट्टान खसेका कारण सडक सुचारु गर्न समस्या परेको बताईएको छ । सडक सुचारु गर्नका लागि आज बिहानदेखि डोजर र एक्साभेटरको प्रयोग गरि सडकको पहिरो हटाउने प्रयास भैरहेको छ ।
गुल्मीको सदरमुकाम तम्घास आउने र पाल्पाहुँदै बुटवलसम्म जाने लामो तथा छोटो दुरिमा सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन । वर्षाको कारण पहिरो गएपछि जिल्लाका तीन दर्जन भन्दा धेरै ग्रामिण सडकहरु समेत अबरुद्ध बनेका छन । चाँड पर्वको समयमा सडक अबरुद्ध बनेपछि दशैमा घरमा फर्कने मानिसहरु समस्यामा परेका छन । वर्षा नरोकिएको कारण स्थानीय पालिकाहरुले पनि तत्काल सडक खसेको पहिरो पन्छाउन सकेका छैनन् ।