डाक्टर भण्डारीद्वारा गुल्मीको डहरे खोलामा पक्की पुलको शिलन्यास  

admin

२०८१ कार्तिक ११ गते, आईतवार १७:०७ मा प्रकाशित

गुल्मी, ११ कात्तिक । लामो समयदेखि नागरिकहरुले पटकपटक समस्या भोग्दै आएको गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड अन्तरगत डहरे खोलामा पक्की पुल निर्माण सुरु भएको छ । आईतबार पुलको शिलन्यास गर्दै गुल्मी क्षेत्र नं १ का सांसद डाक्टर चन्द्र भण्डारीले बर्षौदेखि नागरिकले खेप्दै आएको ठुलो सास्ती चाँडै नै अन्तहुने बताउनु भयो ।

उहाँले नागरिकहरुको समस्यालाई मध्यनजर गरेर पटक पटकको ठूलो संर्घषका कारण योजना समावेश गरि काम शुरु गरेको जानकारी गराउनु भएको छ । वषौदेखि त्यस क्षेत्रका नागरिकहरुले पाउँदै आएको दुख र सास्तीलाई हेरेर समयमै काम सम्पन्न गर्न सांसद भण्डारीले निर्माण व्यावसायीलाई आग्रह समेत गर्नुभएको छ ।

रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डहुँदै बाग्लुङ्को बुर्तिवाङ्सम्म आवजतजावतका लागि अतिनै ब्यस्तहुने डहरे खोलामा पक्की पुल नहुँदा नागरिकहरुले ठूलो समस्या भोग्दै आईरहेका थिए । रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डमा चारवटा पुलहरुको प्याकेजमा निर्माण शुरु गरिदै छ । एउटै ठेक्का मार्फत डहरेसहित नादेवा, भार्से र गिदीखोलामा पुल निर्माणको सम्झौता भएको छ ।

राजेश्वरी–लुम्बिनी जेभीले पुल निर्माणको सम्झौता गरेको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख इन्जिीनियर रामपुकार जैसवालले जानकारी दिनुभएको छ । निर्माण व्यावसायीले ०८० जेठ २२ गते पुल निर्माणको सम्झौता गरे पनि पुलको डिजाइन पनि निर्माण व्यावसायीलेनै गर्नुपर्ने भएकाले ढिला काम सुरु भएको इन्जिीनियर जैसवालले बताउनुभयो । उक्त पुलको ०८२ साउन २२ गते निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ । चारवटै पुल निर्माणको लागि संघिय बजेट मार्फत २२ करोड ३१ लाख रुपैयाँ लागत लाग्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सरकारले काम गरेको रकम समयमै भुक्तानी गरे सम्झौता समय अगाडिनै आफुले पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यावसायी भागवत गिरीले बताउनु भयो । पुल शिलन्यास कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिष्णु कुमारी सापकोटा, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, लुम्बिनी प्रदेश सभा सदस्य चिन्तामणी पाण्डेय, यमु गैरै लगायत स्थानीय जनप्रतिनधि एवं सर्वसाधारणको उपस्थिती रहेको थियो । पुल निर्माण कार्य शुरु भएसँगै त्यस क्षेत्रका नागरिहकरुको बर्षौदेखिको सपना पुराहुने विश्वास गरिएको छ ।